ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नं १ सावादिनका मोहन केसी यसपटक अलैंची टिप्न बगान छिरेनन्। धेरैजसो बसोबास तराईतिर गर्ने उनी अलैंची टिप्न भनेर गाउँतर्फ गए। बगानमा बुट्यान हेरे, टिपौं नै लागेन। ‘सबै बगानभर चहार्दा पनि १०–१५ किलो नाघ्ने देखिन, बगानको रेखदेख गर्ने भाईलाई नै लौ टिपेर खाओ है भनेर हिंडे’केसीले भने।
फक्ताङ्लुङ वडा नं ३ लिङखिमका मानबहादुर लिम्बूले आफ्नो बगानमा यसपटक अलैंचीको उत्पादन गत सालको तुलनामा ६० प्रतिशतले घटेको बताए। ‘औल तिरको त सबै गयो नै, लेकमा समेत त्यति फलेन, तर औल भन्दा लेकमा अलि–अलि चाँहि छ’मानबहादुरले भने।
किसान मात्र होईन, यसपटक व्यवसायीले पनि अलैंचीको उत्पादन घटेको अनुमान लगाएका छन्। अलैंची व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष समेत रहेका भद्रवीर रेग्मीले गत साल यो बेला सम्ममा मोटै परिमाणमा अलैंचीको खरिद गरिसकेका थिए। ‘पोहोर त यो बेला निकै पो झापा पठाई सकेका थियौं त!’ उनले भने। यहाँका व्यवसायीले किसानबाट खरिद गरेको अलैंची झापाका व्यवसायीलाई बेच्ने गरेका छन्। झापाका व्यवसायीले अलैंची उत्पादन हुने जिल्लाका व्यवसायीबाट खरिद गरेको अलैंची भारत सहित तेस्रो बजारमा बिक्री गर्छन्।
अलैंची व्यवसायी संघ ताप्लेजुङका पूर्व अध्यक्ष बालमणि बरालले उत्पादननै कम भएर बजारमा समेत अलैंचीको कम मात्रामा आएको हुन सक्ने अनुमान लगाए। बरालले भने ‘किसानसंग नै यसपटक कम छ, त्यहिँ आधारमा मात्र बजारमा आउने भएकोले व्यवसायीसंग समेत कमैमात्र अलैंची आएको छ।’ लिङखिमका अलैंची किसान मानबहादुरले खडेरी, असिना सहितका समस्याका कारण अलैंचीको उत्पादन यसपटक मोटो परिमाणले घटेको बताए।
गत साल भन्दा दोब्बर बढी मूल्य रहेको अलैंचीको मूल्यमा सामान्यतया उतारचढाव भने आइरहन्छ। अलैंची व्यवसायी संघका अनुसार आइतवार ताप्लेजुङमा अलैंची प्रतिमन (४० किलोग्रामको) ५८ हजार रुपैयाँका दरले कारोवार भएको छ। ‘यो साता भने मूल्यमा खासै ठूलो उतारचढाव आएन’ अलैंची व्यवसायी संघका जिल्ला अध्यक्ष रेग्मीले भने। नेपालमै सबैभन्दा बढी अलैंची ताप्लेजुङमा उत्पादन हुने तथ्याङ्क रहेको छ।
अलैची व्यवसायी संघका अनुसार अघिल्लो वर्ष यो अवधिमा अलैंचीको मूल्य प्रतिमन २६ हजार रुपैयाँ हाराहारी रहेको थियो। करिव ८ वर्ष पछि नयाँ उत्पादनमै राम्रो मूल्य (प्रतिमन ५८ देखि ६० हजार रुपैयाँ) पाएका किसान यसपटक उत्पादनबाट भने ठगिएका छन्।
प्रकाशित: २२ आश्विन २०८० ०७:१५ सोमबार