समाज

चिकित्सकहरू एका बिहानै काठमाडौं हिँडेपछि बिरामीहरू अलपत्र

वीपी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक चिकित्सकहरू काठमाडौं प्रस्थान गरेपछि बिरामीहरू अलपत्र परेका छन्।  

सँधै बिहान ८ बजे खोलिने प्रतिष्ठानको ओपिडी टिकट काउन्टर एक घन्टा ढिलो खुलेपछि बिरामीहरू समस्यामा परेका छन्। शिक्षक चिकित्सकहरूको आन्दोलनको कारण पर्याप्त जनशक्ति अभाव हुँदा समस्या हुने भएपछि ओपिडी बिल काट्ने कि नकाट्ने भनेर कर्मचारीहरूमा अन्यौल भएको थियो। ओपिडी बिल काट्न बिहानैदेखि बिरामीका आफन्तहरू लाम लागेका थिए भने ओपिडीमा पनि फ्लोअपमा आएका बिरामीहरू ठुलो सङ्ख्यामा थिए।

पूर्व जानकारी नदिई ओपिडी काउन्टर बन्द गरेको र फ्लोअपमा आउदा पनि डाक्टरहरू नभेटिएको भन्दै बिरामी र आफन्तजनहरू आन्दोलनमा नै उत्रिएका थिए। ‘हामी लडाई झगडा गर्न आएका होइनौं, विना सुचना बन्द गरेर दुःख दियो। सम्बन्धित निकायको ध्यान जाओस्,’ धरान वडा २ का पशुपति तामाङले भने,‘विरामीलाई केही भयो भने जवाफदेही को हुने हो?’

उपचार सेवा प्रभावित हुने भएपछि अस्पताल प्रशासन र विभागीय प्रमुखहरूको आकस्मिक बैठक बसेर ओपिडी र उपचार सेवा सुचारु गर्ने निर्णय भएपछि करिब ९ बजेतिर मात्र ओपिडी काउन्टर खुलेको थियो। अस्पताल डेपुटी निर्देशक डा.इन्द्र लिम्बुले जुनियर फ्याकल्टीहरु काठमाण्डौं जाने भएपछि विभागीय प्रमुखहरुसँग बैठक बसेर निर्णय गर्नुपरेकोले केही ढिलाई भएको बताए। ‘वार्ता चलिरहेको कारण केही ढिलाई भएको हो। ओपिडी र उपचार सेवा सुचारु भइसकेको छ। केही विभागको जुनियर फ्याकल्टीहरु धेरै काठमाण्डौं गएकोले के गर्ने भनेर छलफल गर्नुपर्यो,’उनले भने।  

शिक्षक कल्याण समाजका अध्यक्ष डा.सेराज अहमद खानले पठनपाठन र परीक्षाको कार्यक्रम मात्र बहिष्कार गरिएको बताए। ‘बिरामीको सेवा बन्द गरेका छैनौं, पठनपाठन र परीक्षाका कार्यक्रम मात्र बाध्य भएर बहिष्कार गरेका हौं,’ अध्यक्ष खानले भने,‘प्रोफेसर र जेआरहरु हुनुहुन्छ, उपचार सेवा उहाँहरूले दिनुहुन्छ। हामी नहुँदा असर केही त केही पर्ला तर बन्द नै गरेका छैनौं।’

प्रकाशित: २२ आश्विन २०८० ०७:१३ सोमबार

वीपी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षक चिकित्सक