समाज

आज देशभरको मौसम मुख्यतया सफा रहने

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले देशभर मुख्यतया मौसम सफा रहने बताएको छ।  

हाल नेपालको पूर्वी तथा मध्य भागमा बङ्गलादेश र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको हुँदा सामान्यतया मौसम सफा रहने बताइएको छ।

महाशाखाले आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने बताएको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

महाशाखाले केही स्थानमा मौसम बदली भई वर्षा हुने सम्भावना समेत रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित: २२ आश्विन २०८० ०२:५२ सोमबार

मौसम पूर्वानुमान महाशाखा जल तथा मौसम विज्ञान विभाग