समाज

कर्मचारीको आन्दोलनले कपिलवस्तुका १० पालिकाको काम ठप्प

संघिय निजामती ऐनमा आफ्ना मागहरु सम्बोधन हुनु पर्ने भन्दै कपिलवस्तुका १० वटै स्थानीय तहका कर्मचारीहरुको आन्दोलनका कारण सबै पालिकाको कामकाज ठप्प भएको छ।

उनीहरुको अनिश्चितकालीन पेड डाउनका कारण सेवाग्राही मर्कामा परेका छन्। आन्दोलनरत कपिलवस्तुका स्थानीय तहमा कार्यरत कर्मचारीले गत असोज १९ देखि जिल्लाका सबै पालिकामा पेन डाउन गरेका हुन्। आन्दोलनरत कर्मचारीहरुको पेन डाउनका कारण १० वटै पालिकाका कामकाज ठप्प भएका छन्। आन्दोलनका कारण १० वटै पालिका र ९६ वटा वडाको सबै कामकाज बन्द भएका हुन्। पेड डाउनले गर्दा विभिन्न कामका लागि आउने सेवा ग्राही मर्कामा परेका छन्।

स्थानीय तह संघर्ष समिती कपिलवस्तुले नेतृत्व गरेको आन्दोलनमा केन्द्रिय संघर्ष समितिको निर्देशन अनुसार पालिकास्तरीय संघर्ष समितीले आन्दोलन अगाडी बढाएका हुन। कपिलवस्तु नगरपालिकामा आन्दोलनरत कर्मचारीले कपिलवस्तु नगरपालिकाको मुल गेटमा धर्ना दिदै कालो पट्टी बाधेर पेन डाउन गरे। जिल्लाका सबै पालिकामा अति आवश्यक बाहेकका सेवा रोकि कालोपट्टी बाधेर मुलगेटमा धर्ना दिई पेन डाउन गरिएको संघर्ष समितिका जिल्ला अध्यक्ष ईन्जिनियर राजेश कुमार सैनीले जानकारी दिए।

स्थानीय तहमा समायोजन भई आएका कर्मचारीले १८ बुदेँ माग राखि देशैभर आन्दोलन गर्दै आएका छन। जसमा आफूहरुलाई निजामती सेवाको परिभाषामा समेट्नु पर्ने, एउटै प्रदेश भित्र प्रदेश र अन्तर प्रदेशमा संघिय मामिला मन्त्रालयले सरुवा गर्नु पर्ने, ५/५ वर्षमा न्युनतम योग्यता पुगको अवस्थामा बढुवा हुनु पर्ने र एक पटकलाई अन्तर तह सेवा प्रवेश  दिईनु पर्ने माग छ।

त्यसै गरि बढुवा प्रक्रिया द्धारा संघिय सेवामा जान पाउने व्यवस्था गरिनु पर्ने, कर्मचारीका सन्ततीलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउनु पर्ने, सेवाकालिन तालिमको व्यवस्था गर्नु पर्ने, कर्मचारी कल्याणकारी कोषको व्यवस्था हुनु पर्ने, संघिय वा प्रदेशिक सरकारबाट उपदानको व्यवस्था गरिनु पर्ने र ऐनमै स्थानीय निजामती सेवा भनि उल्लेख गरिनु पर्ने माग आन्दोलित कर्मचारीको छ।  

प्रकाशित: २१ आश्विन २०८० १३:५७ आइतबार

कर्मचारीको आन्दोलन