समाज

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

एमाले सुदूरपश्चिम प्रदेश अधिवेशन शुरु

नेकपा (एमाले)को सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन आइतबारबाट शुरु भएको छ। प्रदेश अध्यक्षका लागि कमल तिमिल्सिना, कृष्णप्रसाद जैसी र बचन सिंह आकांक्षी छन्। ६ सय ७५ जना प्रतिनिधिले भोट दिने छन्।

नौ जिल्लामा सहुलीयत पसल

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडद्वारा कर्णालीका नौ जिल्लामा आइतबारदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गरेको छ। कर्णालीका १० मध्ये सल्यानबाहेकका जिल्लामा मंसिर ३ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन गरिने कम्पनीका प्रादेशिक कार्यालय प्रमुख मानव मिश्रको भनाइ छ।

पानी सम्झी एसिड खाँदा गम्भीर बिरामी

हिँड्ने क्रममा बाटो छेउको एसिड भरिएको बोतललाई पानी सम्झी खाँदा दाङको लमहीमा एक जना गम्भीर बिरामी भएका छन्। उक्त एसिड खाने चन्द्रागिरि नगरपालिका–१ थानकोट निवासी ५१ वर्षीय दीपकराज थापा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा भर्ना भएका छन्।

१४ घण्टापछि खुल्यो किम्रोङखोला

शनिबार बेलुकीको पहिरोले थुनिएको अन्नपूर्ण आधार शिविर (एबिसी) पदमार्गमा पर्ने कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रोङखोला १४ घण्टापछि खुलेको छ।  बिस्तारै खुलेका कारण गाँउपालिकाको तल्लो तटिय क्षेत्र विरेठाँटीमा जोखिम घटेको स्थानीयको भनाइ छ।

चाडपर्व लक्षित सुरक्षा योजना, चार ठाउँमा हेल्पडेस्क

चोरी, डकैती, लुटपाट, ठगी तथा सवारी दुर्घटना लगायतको अपराधिक गतिविधि रोक्न मकवानपुर प्रहरीद्वारा दशैं, तिहार, छठ लगायतको चाडपर्वलाई लक्षित सुरक्षा योजना लागू गरिएको छ। सवारी दुर्घटना, जुवातास नियन्त्रण, मादक पदार्थ सेवनबाट हुने झैझगडालाई विशेष निगरानी गरिने मकवानपुर प्रहरी प्रमुख ९प्रहरी उपरीक्षक० सीताराम रिजालको भनाइ छ।

पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

१७ करोड ९८ लाख ३३ हजार रुपैयाँ निकासा हुँदा शून्य प्रगति भएको भन्दै सोही रुपैयाँ विगो बराबरको सरकारी सार्वजनिक सम्पत्ति हानि नोक्सानीको आरोपमा अख्यिारले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान विरुद्ध मुद्दा दायर गरेको छ। तत्कालिन आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादव र लालबन्दी नगरपालिकाका तत्कालीन नगरप्रमुख मान बहादुर खड्कासहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो।

वीरेन्द्र सभागृह जिर्णोद्वारको काम अन्तिम चरणमा

मिडिया सेन्टर, थिएटर, भिआईपी कक्ष, मिटिङ हल, भिआईपी वेटिङ रुम, चेन्जिङ रुमसहित ४ सय २० जना क्षमताको विराटनगर महानगरपालिका–७ स्थित वीरेन्द्र सभागृहको जिर्णोद्वारको काम अन्तिम चरणमा छ। २० करोड लागत अनुमान गरिएको सभागृहको ८५ प्रतिशत निर्माण कार्य पुरा भएको इन्जिनियर अर्जुन थापाको भनाइ छ।

प्रकाशित: २१ आश्विन २०८० १३:१७ आइतबार

सात प्रदेशका सात समाचार