समाज

राष्ट्रपतिद्वारा अस्ताउँदो सूर्यलाई अघ्र्य

काठमाडौं—छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अघ्र्य दिइएको छ। यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले गुह्येश्वरीमा स्थापित छठी माताको मन्दिरमा पूजा गरी वाग्मती नदीमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्। उनले कमलपोखरीमा पनि स्थापित छठी मातालाई पूजा गरी अस्ताउँदो सूर्यलाई अघ्र्य दिएकी थिइन्।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यस पर्व मंगलबारदेखि शुरु भएको हो। छठको मुख्य दिन आज बेलुकी वर्तालुले अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका छन्। ‘महाभारत’मा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डवबाट अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो। उक्त समयमा पाण्डव विराट् राजाको दरबारमा आश्रय लिएको उल्लेख छ। लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो।

सूर्य पुराणानुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन्। फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन्। त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको शुरुआत भएको विश्वास गरिन्छ। संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । सूर्यविना रुख, बिरुवा, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन। सूर्य किरणको चिकित्सामाथि कैयाँै चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणबाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ।

साम्ब पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्ब सूर्यको आराधनाको फलस्वरूप रोगमुक्त भएको उल्लेख छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फल चढाउँदा सूर्य प्रसन्न भई वर्तालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ। यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्काबाट व्रत गराउने गर्छन् । अर्थ अभाव भएका मानिसहरु भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन्। रासस

प्रकाशित: ९ कार्तिक २०७४ १४:२९ बिहीबार

राष्ट्रपतिद्वारा अस्ताउँदो सूर्यलाई अघ्र्य