समाज

काँडे भ्याकुर काँडैमा रमाउने

टिटर-टिटर-टिटर-टिटर, पिप-पिप-पिप-पिप। यो काँडे भ्याकुरको सुमधुर स्वर हो।

यो चरा हेर्दा जति सुन्दर छ, त्योभन्दा पनि यसको स्वर कोकिल र कर्णप्रिय छ। साना रुखका हाँगामा बसेर यसले आवाज निकाल्दा जोकोही पनि मन्त्रमुग्ध नभइरहन सक्दैनन्। सुमधुर आवाज पछ्याउँदै केही दिन अगाडि काठमाडौंको कीर्तिपुरमा काँडे भ्याकुरको दर्शन मिल्यो। रुखका हाँगामा रहेको सुन्दर चराको तस्बिर खिच्दै गर्दा यसका मनमोहक आवाजले मन भित्रैबाट खिच्यो।

काँडे भ्याकुर (स्पाइनी ब्याबलर) नेपालमा मात्र पाइने दुर्लभ चरा हो। नेपालमा करिब ९०० भन्दा बढी प्रजातिका चरा पाइने भए तापनि काँडे भ्याकुर देशको एक मात्र रैथाने चरा हो।

विश्वमा अन्त कतै नपाइने काँडे भ्याकुर कुनै समय ललितपुरको गोदावरी र मकवानपुरमा मात्र पाइन्छ भन्ने सुनिन्थ्यो तर यो चरा काठमाडौं, ललितपुर, धादिङ, ककनी, गोर्खा, पोखरा, मकवानपुर, चितवनलगायत ठाउँमा पनि पाइन्छ।

काँडे भ्याकुर पश्चिम नेपालको डोटी र राराताल वरपर पनि न्यून सङ्ख्यामा पाइने गरेको अभिलेख छ। लोपोन्मुख काँडे भ्याकुर समुन्द्री सतहबाट ५०० मिटरदेखि २१५० मिटरको उचाइसम्म पाइन्छ। सामान्यतः बाक्लो जंगल र काँडा भएको झाडीमा यसको वासस्थान हुने गर्छ।

विशेषगरी काँडे उन्यु वा खरुघाँसमा गुँड लगाउने गर्छ। उन्यु वा खरुघाँस भएको काँडे र खस्रा वनमा बस्न मन पराउने भ्याकुर भएकाले पनि यसलाई काँडे भ्याकुर भनिएको हो। करिब २६ सेन्टिमिटर लामो काँडे भ्याकुरको शारीरिक रङ खैरो कैलो र अनुहारदेखि पेटसम्म सेता धर्काहरू फैलिएका हुन्छन्। यसले एकपटकमा निला रङका ३ देखि ४ वटासम्म अण्डा पार्छ भने १८ देखि २१ दिनसम्म कोरलो बसी बच्चा काड्ने गर्छ।

काँडे भ्याकुर प्रायः समूहमा बस्न रुचाउँछ। लजालु स्वभावको यो चरालाई सजिलै फेला पार्न सकिँदैन। काँडे भ्याकुरले नेपालमा राष्ट्रिय चरा जत्तिकै महत्व राखेको छ। कतिपय स्थानीय निकायले नीति तथा कार्यक्रममै यसको संरक्षणका कार्यक्रमहरू समेटेका छन् तर कार्यान्वयन पक्ष भने फितलो रहेको छ।

कुनै समय काठमाडौं उपत्यकामा प्रशस्त मात्रामा पाइने काँडे भ्याकुर बढ्दो सहरीकरणले गर्दा देख्नै हम्मेहम्मे पर्न थालेको छ। रुखका हाँगामा बसेर टिटर-टिटर-टिटर-टिटर गर्ने चरा अहिले कता उडिसके होलान्। सुन्दर तस्बिरसँगै यी चरा सधैं हाम्रा नजिक हुन्छन्। 

प्रकाशित: २० आश्विन २०८० ०४:२३ शनिबार

काँडे भ्याकुर काँडैमा रमाउने