समाज

भेपमार्फत ९ किलो सुन तस्करी प्रकरण: चिनियाँ नागरिकका ड्राइभर पक्राउ

फ्लाई दुबईको उडान नम्बर एफजेड–०५८७ बाट नेपाल आएका चिनियाँ यात्री ली हानसोङले ई–सिगरेट (भेप) भित्र राखेर ल्याएको करिब ९ किलो सुन तस्करी प्रकरणमा प्रहरीले थप एक जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा चिनियाँ नागरिक दावोजिन वाङका सवारी चालक लोकेन्द्र पौडेल रहेका छन्। उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले केही दिनअघि नियन्त्रणमा लिएको हाे।

यही सुन गायब प्रकरणमा कृष्णबहादुर महरा र उनका छोरा राहुल महरा पनि मुछिएका थिए।

यस प्रकरणमा ब्युरोले अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा राहुल महराले भन्सार विभागका अधिकृत र कर्मचारीलाई पटक पटक फोन गरी ई–सिगरेट आफ्ना व्यापारिक साथीको भएकाले छाडिदिन र छाड्न नमिल्ने भए लिलामीमा राख्न दबाब दिएको उल्लेख छ।

सिआइबीले सरकारी वकिलको कार्यालयलाई बुझाएको अनुसन्धान प्रतिवेदनमा महराका बाबुछोरा, सुन ल्याउने चिनियाँ नागरिक र अरू सम्पर्क सूत्रको टेलिफोन नम्बरसमेत उल्लेख गरेको छ। प्रतिवेदन अनुसार महरा बाबुछोरा तस्करीको सुन ल्याउने समूहसँग सम्पर्कमा रहेको देखिन्छ।

प्रकाशित: १७ आश्विन २०८० १०:०६ बुधबार