समाज

ट्रकको ठक्करबाट दुईको मृत्यु

इनरुवा- सुनसरीको कोसी गाउँपालिका–८ भाण्टाबारीमा भारतीय नम्बरको गाडीको ठक्करबाट बिहीबार राति एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अन्दाजी पचास बर्षीय महमद मुस्ताक मियाँ रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीयाले जानकारी दिए । 


पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बीआर ०७ जी ८११५ नंको ट्रकले साइकलयात्री मियाँलाई ठक्कर दिँदा उपचारका क्रममा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ । ठक्कर दिने ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ । यसैगरी, सुनसरीको रामधुनी नगरपालिका–२ मा ट्रकमा मोटरसाइकल ठोक्किँदा बिहीबार राति एकजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा इनरुवा नगरपालिका–८ का मुकेश चौधरी रहेको प्रहरी नायब उपरीक्षक चिमरीयाले जानकारी दिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत तित्रीवनमा रोकेर राखेको ना ५ ख ५११ नंको ट्रकमा इनरुवाबाट इटहरीतर्फ जाँदै गरेको को ३१ प ६८०९ नंको मोटरसाइकलले ठक्कर दिँदा मोटर साइकलमा सवार इनरुवा–८ का मुकेश चौधरी र विपुल चौधरी गम्भीर घाइते भएका थिए । 

घाइते दुवैजनालाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा ल्याइएकोमा मोटरसाइकल चालक मुकेशको उपचारका क्रममा मृत्यु भएको हो । घाइते विपुलको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको छ । ट्रक र चालक सुनसरी प्रहरीको नियन्त्रणमा रहेका छन् ।

प्रकाशित: ३ कार्तिक २०७४ ०३:३२ शुक्रबार

ट्रकको ठक्करबाट दुईको मृत्यु