ऐतिहासिक तथा पुरातात्विक महत्वका मठमन्दिर, चौतारी, पोखरी, पाटी पौवा र धारा कुवाजस्ता सम्पदा संरक्षण अभावमा खड्किएको छ।
समय र उचित संरक्षण हुन नसक्दा यस्ता स्मारक संकटमा परेका छन्। गाउँ–गाउँमा सडक सञ्जाल विस्तार गर्ने क्रममा कतिपय चौतारी–पोखरी भत्काइएको र भएकाको पनि संरक्षण नगरिएका अवस्था छन्।
ऐतिहासिक र सामाजिक महत्व बोकेका दर्जनौँ चौतारी, पोखरी अस्तित्वविहीन बन्दै गएका छन्। विभिन्न काल खण्डका ऐतिहासिक महत्व बोकेका प्राचीन स्मारकको मर्मत सम्भारको अभावमा जीर्ण बन्दै गइरहेका छन्। पुरातात्विक बस्तुहरूको संरक्षण नहुँदा हराइरहेका छन्।
प्राचीन स्मारक संरक्षण भन्नाले कुनै घर, मन्दिर, गुम्बा, स्मारक, स्तुपा विहार आदिलाई जनाउँछ। प्राचीन स्मारक हुनका लागि दुई वटा आधारहरू पूरा भएकै हुनुपर्ने छ।
प्राचीन स्मारक हुनका लागि त्यस्ता स्मारक निर्माणको अवधि एक सय वर्षभन्दा बढी भएको हुनुपर्दछ। र, त्यसले ऐतिहासिक महत्व बोकेको पनि हुनुपर्दछ। ऐतिहासिक महत्व भन्नाले ऐतिहासिक, कलात्मक, वैज्ञानिक र वास्तु शास्त्रीय महत्व बोकेको भन्ने बुझिन्छ।
प्राचीन स्मारक संरक्षण ऐन २०१३ ले पुरातात्विक बस्तुहरूको संरक्षण गर्दछ। पुरातात्विक बस्तु त्यस्तो वस्तु हो जसलाई मान्छेले परापूर्व कालमा बनाएको वा हातले बनाएको कागज, मुद्रा, ढुङ्गाबाट बनाएको मूर्ति, काठबाट बनाएको मूर्ति आदिलाई जनाउँदछ।
यस्ता स्मारकहरू ऐतिहासिक तथा वर्तमान काल खण्डमा चोरी हुने गरेका छन्। नेपालका स्मारकहरू चोरी भएर विदेशमा पुगेका छन्। यस्ता मूर्ति प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुसार स्वदेश फिर्ता ल्याउने गरिएको छ । यस कार्यमा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले समन्वय गर्दै आएको छ।
नेपालले गैर कानुनी रूपमा विदेशमा लगिएका यस्ता पुरातात्विक बस्तु वा मूर्तिहरू बेलाबेलामा फिर्ता ल्याइरहेको छ। यो वर्ष मात्र २५ वटा पुरातात्विक बस्तु वा मूर्तिहरू नेपालले फिर्ता ल्याइने तयारी भइरहेको छ। यस अघि सन् २०२२ मा १३ मूर्ति नेपाल ल्याइएको थियो।
प्रकाशित: १६ आश्विन २०८० १३:०६ मंगलबार