समाज

स्रोत नखुलेको दश लाख भारु सहित तीन भारतीय पक्राउ

रुपन्देहीको बेलहिया नाका नजिकैबाट १० लाख भारतीय रुपैयाँ सहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन्। अवैध भारतीय रकमसँगै भैरहवाका दुई ठुला होटलका क्यासीनोका गाडी पनि बरामद भएको छ।

सशस्त्र प्रहरीले गए राती सिद्धार्थनगर नगरपालिका १ डण्डाबाट श्रोत नखुलेको १० लाख भारतीय रुपैयाँ सहित तीन जना भारतीयलाई पक्राउ गरेका हो। पक्राउ पर्नेमा भारतको महाराजगन्ज जिल्ला सुनौली ग्रामपञ्चायत–२० सुनौलीका ३८ वर्षीय राजु कौशल, गोरखपुर जिल्ला हमायुपुर दक्षिण गोरखपुरका ४० वर्षीय अभिनव जैसवााल र ३४ वर्षका अस्तिक त्रिपाठी रहेका छन्।

पक्राउ परेका राजु कौशलको साथबाट ९ लाख र अभिनव र अस्तिकको साथबाट १ लाख भारतीय रुपैयाँ फेला परेको सशस्त्र प्रहरी बल २७ नम्बर गणले जानकारी दिएको छ। सशस्त्र प्रहरीले उनीहरु चढेको भैरहवाको होटल लाकोल र नान्स होटलको क्यासीनोका भ्यान पनि नियन्त्रणमा लिएको छ।

लु २ च ७३५० र प्रदेश ०१–०२६ च ३६५२ नम्बरको भ्यानमा चढेर बेलहिया नाकाबाट भैरहवा तर्फ आउँदै गरेका उनीहरुको साथमा रहेको २० लाख भारतीय रुपैयाँको श्रोत खुलाउन नसकेपछि सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डाले नियन्त्रणमा लिएको हो।

बरामद गरिएका गाडीहरु भैरहवाकै होटल लाकोल र नान्समा संचालित क्यासीनोका हुन। भैरहवाका होटलमा संचालित क्यासीनोका गाडीमा अवैध भारतीय रकम ओसार पसारमा हुने गरेको भन्ने विशेष सुराकीका आधारमा केही दिन यता चेकजाँचमा कडाइ गरिएको थियो।

पक्राउ परेका तीनै जनालाई सशस्त्रले जिल्ला प्रहरीलाई बुझाएको छ भने बरामद रकम र भ्यान राजश्व अनुसन्धान कार्यालय बुटवल बुझाएको छ।

प्रकाशित: १५ आश्विन २०८० १०:२४ सोमबार