समाज

ताप्लेजुङमा आगामी ५ वर्षमा घर निर्माण र मर्मतका लागि १० लाख घन फिट काठ आवश्यक पर्ने अनुमान

ताप्लेजुङमा आगामी ५ वर्षमा घर निर्माण र मर्मतका लागि मात्रै करिब १० लाख घन फिट काठ आवश्यक पर्ने प्रक्षेपण गरिएको छ। डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०८३/८४ सम्मका लागि आवधिकसहितको रणनीतिक योजना तयार पार्दै वन पैदावार मागको अवस्था विश्लेषण गरेको हो।  

निमित्त डिभिजनल वन अधिकृत बद्रीप्रसाद शाहका अनुसार काठ र दाउरा उपयोगको अवस्था प्रक्षेपण गरिएको छ। अघिल्लो आवबाट आव २०८३/८४ सम्ममा ९ लाख ९५ हजार ५ सय ५२ घन फिट काठ आवश्यक पर्ने वन कार्यालयको प्रक्षेपण रहेको छ। सो अवधिसम्ममा ११ हजार ६२ चट्टा दाउरा उपयोग हुने वन कार्यालयको अनुमान छ।  

घर निर्माणका लागि औसतमा ६० तथा मर्मतका लागि २५ क्युविक फिट काठ लाग्ने अनुमान वन कार्यालयले गरेको छ। यस्तै प्रत्येक घरधुरीले प्रत्येक दिन ०.१ चट्टा दाउरा उपयोग गर्ने अनुमान वन कार्यालयले गरेको छ।  

स्रोत सर्वेक्षण २०८० को तथ्याङ्कका आधारमा कूल घरधुरीको औसतमा १० प्रतिशतले नयाँ घर निर्माण गर्ने र २ प्रतिशतले घरगोठ मर्मत गर्ने अनुमानका आधारमा वन कार्यालयले काठ तथा दाउरा उपयोगको अनुमानित तथ्याङ्क निकालेको हो।  

जिल्लाभरमा २५ हजार ८ सय ७० घरधुरी नियमित रुपमा बसोबास गर्ने तथ्याङ्कलाई वन कार्यालयले काठ तथा दाउरा उपयोग गर्ने संख्यासंग तुलना गरेको जनाएको छ। डिभिजन वन कार्यालयका अनुसार चालू आव २०८०/८१ मा घर निर्माणका लागि १ लाख ३३ हजार ४ सय ८४ घन फिट र मर्मतका लागि ६६ हजार ७ सय ४२ घन फिट गरी कूल २ लाख २ सय २५ घन फिट काठ आवश्यक पर्ने अनुमान छ। यो आवमा २ हजार २ सय २५ चट्टा दाउरा आवश्यक पर्ने अनुमान गरिएको छ।  

यस्तै आव २०८१/८२ मा घर निर्माणका लागि १ लाख ३२ हजार ७ सय ३६ घन फिट तथा मर्मतका लागि ६६ हजार ३ सय ६८ घन फिट गरी कूल १ लाख ९९ हजार १ सय ४ घन फिट काठ तथा २ हजार २ सय १२ चट्टा दाउराको माग हुने वन कार्यालयको अनुमान छ।  

आव २०८२/८३ मा घर निर्माणका लागि १ लाख ३१ हजार ९ सय ९३ तथा मर्मतका लागि ६५ हजार ९ सय ९६ गरी कूल १ लाख ९७ हजार ९ सय ८९ घन फिट काठ र २ हजार २ सय चट्टा दाउरा आवश्यक पर्ने अनुमान गरिएको छ। आव २०८३/८४ मा घर निर्माणका लागि १ लाख ३१ हजार २ सय ५४ घन फिट तथा मर्मतका लागि ६५ हजार ६ सय २७ घन फिट गरी कूल १ लाख ९६ हजार ८ सय ८० घन फिट काठ तथा २ हजार १ सय ८८ चट्टा दाउराको माग हुने वन कार्यालयले अनुमान गरेको छ।  

अघिल्लो आव २०७९/८० मा घर निर्माणका लागि १ लाख ३४ हजार १ सय ३५ तथा मर्मतका लागि ६७ हजार १ सय १८ गरी कूल २ लाख १ हजार ३ सय ५३  घन फिट काठ र २ हजार २ सय ३७ चट्टा दाउराको माग थियो।  

ताप्लेजुङको जनसङ्ख्या ऋणात्मक रहेको छ। २०६८ सालको जनगणनामा ताप्लेजुङको जनसङ्ख्या १ लाख २७ हजार हारहारी रहेकोमा २०७८ को जनसङ्ख्यामा १ लाख २० हजार (०.५३ प्रतिशत ऋणात्मक) हाराहारीमा झरेको छ। जनसङ्ख्याको यहिँ ऋणात्मक अवस्थालाई आधार मानेर वन कार्यालयले वन पैदावार मागको अवस्थाको प्रक्षेपण गरेको जनाएको छ।  

प्रकाशित: १५ आश्विन २०८० ०८:०५ सोमबार

ताप्लेजुङ घर निर्माण मर्मत डिभिजनल वन अधिकृत