समाज

दुई बालक मृत्यु प्रकरणः आज पनि वीरेन्द्रनगर अशान्त

दुई बालक मृत्यु प्रकरणको विषयलाई लिएर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर आइतवार बिहानैदेखि अशान्त बनेको छ। मृतक बालकका आफन्तले उषा बालबाटिका स्कुलको होस्टेलसहित विद्यालयमा आजगनी गरेका छन्।  

आइतवार बिहानैदेखि मुख्य बजारक्षेत्र मङ्गलगढी र यरीचौकमा प्रर्दशन गर्दै पसल तथा यातायात बन्द गर्दै हिँडेका छन्। दैलेख स्थायी घर भएका दुई बालकको छुट्टाछुट्टै ठाउँमा मृत्यु भएपछि वीरेन्द्रनगर तनावपूर्ण बनेको हो। दुवै घटनालाई लिएर पीडितहरूले संयुक्त आन्दोलनको घोषणा गरेका हुन्।

बन्दका कारण पसल तथा बजार ठप्प छन् भने यातायात पनि मुख्य सडकमै रोकिएका छन्। आइतवार बिहान आन्दोलनलाई रोक्न खोज्ने स्थानीय यूवा आन्दोलनकारीबाटै कुटिएका छन्।  

स्थानीय प्रशासनले घटनाको छानबिन गरिरहेको अनुभुति पीडित पक्ष गर्न नसकेको भन्दै आन्दोलन गर्नुपरेको आफन्तहरूले बताए। दैलेखको चामुण्डाविन्द्रासैनी १ घर भएका कक्षा दुईमा पढ्ने सलाम पुलामीमगर होस्टेलमै शंकास्पद अवस्थामा मृत्यु भएको थियो।  

त्यस्तै शनिवार बिहान मोटरसाइकलको ठक्करबाट दैलेखको आठविस नगरपालिका घर भएका पाच वर्षिया बालक टुकदर्शन गिरीको मृत्यु भएको र हालसम्म प्रहरीले मोटरसाइकल चालक र मोटरसाइकल पत्ता लगाउन नसकेको भन्दै परिवारजन आन्दोलित भएका छन्।  

उषा बालबाटिका स्कुलका होस्टेल सञ्चालक र प्रिन्सिपललाई प्रहरीले शनिवार नै नियन्त्रणमा लिएर अनुसन्धान गरिहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: १४ आश्विन २०८० ०७:१२ आइतबार

दुई बालक मृत्यु प्रकरण कर्णाली प्रदेश वीरेन्द्रनगर