समाज

केरामा ‘टिआर–४’ देखिएपछि चितवनमा उच्च सतर्कता

फाइल तस्बिर।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित प्रतापपुरको जिनाइन जातको केरामा ‘पानामा’ रोग देखिन थालेपछि चितवनमा केरा आयातमा विशेष सतर्कता अपनाउन थालिएको छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई चितवनले आचारसंहिता नै बनाएर बाहिर जिल्लाबाट आउने केराको प्याकेजिङमा विशेष ध्यान दिने अनुरोध गरेको हो।

‘चितवन नजिकै प्रतापपुरमा जिनाइन जातको केरामा ‘टिआर–४’ देखिएको छ। त्यहाँबाट यहाँ आउन धेरै समय लाग्दैन,’ परियोजनाका कृषि अधिकृत इन्द्रशर्मा ढुंगानाले भने, ‘बाहिरी जिल्लाबाट आउने केरामा खुल्ला रुपमा ल्याउन नदिनको लागि जिल्ला प्रशासन कार्यालय, व्यवसायी र किसानहरुलाई अनुरोध गरेका छौँ।’

एक ठाउँबाट अर्को ठाउँसम्म सङ्क्रमित बिरुवा, माटो, पानी र कृषि औजारबाट सङ्क्रमण फैलने गर्दछ। यसका साथै केरा बोक्ने गाडीको टायर, जुत्ता, चप्पलमा टाँसिएको माटोमार्फत एक खेतबाट अर्को खेतमा रोगको सङ्क्रमण सर्ने सम्भावना बढी हुन्छ। त्यसकारण किसान र व्यवसायीलाई कोसा मात्र प्लाष्टिकमा प्याकिङ गरेर ल्याउन अनुरोध गरिएको ढुंगानाले बताए।

‘केराको बगानमा जैविक सुरक्षा प्रणाली अपनाउने, केरा आयात गर्दा क्रेटमा वा प्याकिङ गरेर मात्र आयात गर्न, बगैँचामा रहेको घाँस काटेर बगैँचा बाहिर लैजान नहुने, केरा फल ढुवानी गर्दा एकद्वार प्रणाली अपनाउने, केरा बगानबाट पानी बाहिर बगेर जान नदिने, नयाँ बगैँचा स्थापना गर्दा सावधानी अपनाउनुपर्ने, सङ्क्रमित क्षेत्रको नर्सरीबाट केराको बेर्ना बाहिर जान नदिनेजस्ता १८ वटा आचारसंहिता कार्यान्वयन गर्न भनेको छौँ,’ ढुंगानाले भने ‘पूर्ण रुपमा कार्यान्वयन हुन सकेन भने चितवनको केरालाई बचाउन सकिँदैन।’

उनका अनुसार अहिलेसम्म पानामा रोगको उपचार पद्धति पत्ता लाग्न सकेको छैन। तर, यसको सावधानी अपनाउन सके क्षति कम गर्न सकिने उनले बताए। उनले गैँडाकोटमा केरा बोक्ने गाडिलाई धुने व्यवस्था गर्नुपर्ने समेत बताए।

‘टिआर–४ देखियो भने खतमै हुन्छ। जिनाइन नै टुप्न्छि,’ उनले भने मर्नुभन्दा बौलाउनु निको हुन्छ भन्छन् अहिले सबै प्रयोग गरेर रोक्न लाग्यौँ।’ प्राङगारिक मल भएको ठाउँमा कम रोग लाग्ने उनले बताए।

नेपालमा पहिलो पटक भदौमा कैलालीको टिकापुरमा जिनाइन जातको केरामा पानामा रोग देखिएको हो। त्यसपछि नवलपरासीमा देखिएको छ। त्यहाँ भारतबाट बिरुवा ल्याएर रोपेपछि रोग भित्रिएको हो। त्यसकारण सीमा नाकामा पनि कडाइ गर्नुपर्ने केरा व्यवसायी महासंघका अध्यक्ष विष्णुहरी पन्तले बताए।

यो रोग केराको कोभिडभन्दा पनि डरलाग्दो छ। उनले भने ‘जिल्ला भित्रने केराहरू पात र डाँठबिना ओसारपसार गर्नुपर्छ।’ उनले कोभिड जस्तै केरामा पनि राज्यले महामारी घोषणा गर्नु पर्ने धारणा राखे।

‘छिमेकी जिल्लामा देखियो। यो फैलन धेरै समय लाग्दैन,’ उनले भने ‘महामारी घोषणा गरेर ओसार प्रसारलाई निषेध गर्नुपर्छ।’ उनले हामी खतरा अवस्थामा रहेको भन्दै नेपालको केरा बचाउन तर्फ सरकारले ध्यान दिनुपर्ने बताए।

चितवनका केही किसानले केरा बगानमा जानको लागि विशेष ध्यान दिन थालेका छन्। केरा उत्पादक सङ्घका पूर्व अध्यक्ष यज्ञ सुवेदीले बाहिरबाट ल्याइने र जिल्लाभित्रबाटै ल्याइने केरालाई समेत प्याकिङ गरेर ल्याउन व्यवसायीलाई अनुरोध गरे। व्यवसायीले समेत यस कुरालाई कडाइका साथ पालना गर्ने बताएका छन्।

विगतका वर्षमा जिनाइन जातको केरामा पानामा रोग देखिएको थिएन। त्यसकारण सरकारले जिनाइन जातको केरा प्रवर्द्धनका लागि बिरुवा समेत वितरण गर्दै आएको थियो। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले २ लाख ८० हजार बिरुवा समेत वितरण गरेको छ। चालु आर्थिक वर्षमा ८७ हजार बिरुवा वितरण गर्ने लक्ष्य राखेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई चितवनका प्रमुख धनबहादुर थापाले जानकारी दिए।

टिआर–४ को उपचार विधि नभएकाले केराको ओसारपसारमा ध्यान दिनुपर्ने बताए। केराको पातबाट पनि पानामा रोग सर्ने भएकाले व्यवसायीले विशेष ध्यान दिनुपर्ने उनले बताए।

करिब १४ वर्ष अघि नेपालमा पानामा रोगको रेस–१ भारतबाट भित्रिएको अनुमान गरिएको थियो। चितवनमा यो रोग सात वर्षदेखि व्यापकरूपमा फैलिँदै गएको छ। रेस–१ को मालभोग केरामा देखिने गर्दछ। तर, टिआर–४ भने देखिएको छैन। यो जिनाइनमा मात्र देखिन्छ। नयाँ जात जि–नाइन, विलयम हाइब्रिड, चिनियाँ चम्पालगायत जातले रेस–१ लाई पूर्णतया सहन सक्छन्। सोही कारणले चितवनका किसान जिनाईन तर्फ आकर्षित छन्।

नयाँ प्रजाति पानामा (टिआर–४) ले भने नेपालमा खेतीका लागि उपलब्ध सबै केराका जातलाई पूर्णतया नष्ट गर्न सक्ने क्षमता राख्ने विज्ञले बताएका छन्।

यो रोग लागेमा सुरुमा पुराना पातको फेद पहेँलो हुने पछि, पातको किनारा पहेँलिन थाल्छ र पात सुकेर डाँठ भाँचिने उनले बताए।

चितवनमा २ हजार २ सय ५ हेक्टर क्षेत्रफलमा खेती गरिएको छ। त्यसमध्ये ४ सय हेक्टर क्षेत्रफलमा जिनाइन जातको केरा लगाइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जानकारी दिएको छ। कार्यालयका अनुसार जिल्लामा वार्षिक ४४ हजार २ सय ४३ मेक्टिक टन केरा उत्पादन हुन्छ। जिल्लामा केराको उत्पादकत्व २४ दशमलव ६ मेक्टिक टन रहेको छ।

प्रकाशित: १३ आश्विन २०८० १३:३९ शनिबार