समाज

‘सीप तथा तालिम बिनै वैदेशिक रोजगारीमा नेपाली’

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले यो वर्ष वैदेशिक रोजगारीमा गएका ९२ प्रतिशत श्रमिक सिप तथा तालिम नभएकाहरु गएको बताएका छन्।

शुक्रबार नेपाल उद्योग परिसंघले आयोजना गरेको श्रमिक सीप विकासमा नीतिगत व्यवस्था विषयक छलफल कार्यक्रममा बोल्दै सचिव भण्डारीले यस्तो बताएका हुन्।

उनले नेपालको कानूनले वैदेशिक रोजगारीमा जानको लागि सीप र तालिम अनिवार्य आवश्यक भनेको बताए। कानूनी व्यवस्था भएपनि नेपालबाट वैदेशीक रोजगारीमा जानेहरु मध्ये ९२ प्रतिशत श्रमिक सीप विना विदेश गइरहेको उनले बताए।

पछिल्लो वर्ष वैदेशिक रोजगारीमा गएका साढे ३ लाख नेपालीहरु मध्ये ९२ प्रतिशत तालिम बिना गएको उनको भनाइ छ। सचिव भण्डारीले तालिम र सिपको सर्टिपिकेट आवश्यक पर्ने भएकाले तालिम बिनाको सर्टिपिकेट बोकेर विदेश जाने गरेको बताए।

उनले सीप बिना वैदेशिक रोजगारीमा जाने गरेकाले नेपालमा आएर सामान्य सुनचाँदी बनाउने भारतीय कालीगढहरुले गर्ने आम्दानी भन्दा पनि कम रहेको जिकिर गरे।

उनले नेपालमा सीप विकासको लागि तालिम दिने भनेर सबै मन्त्रालय र संस्थाहरुले गरिरहेको भन्दै अब सरकारले शिक्षा र श्रम मन्त्रालयलाई श्रमिक र एडभान्स तालिम सिटिभिटीलाई मात्रै दिएर अन्य सबै बन्द गर्न आवश्यक रहेको उल्लेख गरे। तालिम दिने सरकारका धेरै संस्था भएपनि श्रम बजारमा तालिम दिने श्रमिकको अभाव रहेको उनको भनाइ थियो।

प्रकाशित: १३ आश्विन २०८० १२:२८ शनिबार