समाज

चुनौतीको सामना गरेर गन्तव्यमा पुग्नुपर्छ: प्रधानन्यायाधीश

नेपाल बार एशोसियसनको साधारण सभालाई सम्बोधन गर्नुहुँदै प्राधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ । तस्विर: गोविन्द केसी/नागरिक

 प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले वर्तमान अवस्थामा बढ्दो जनअपेक्षा, सिमित स्रोत साधन लगायतका कारण चुनौती भएको बताएका छन्। बिहीबार नेपाल बार एशोसियसनको सुर्खेतमा आयोजित केन्द्रीय साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘चुनौती भएपछि भागेर होइन सामना गरेर मात्र गन्तव्यमा पुग्न सकिन्छ’ प्रधान न्यायाधीश श्रेष्ठले भने, ‘त्यसका लागि जनताको आस्था र विश्वास अभिवृद्धि गर्ने प्रयासहरू भएका छन्।’ न्यायपालिकाको आस्था आम नागरिकको केन्द्रको रुपमा स्थापित हुनुपर्ने धारणा व्यक्त गरे।अदालतको कार्यसम्पादनमा देखिएका सकारात्मक सुधारमा बारको भूमिका रहेको टिप्पणी गर्दै न्यायपालिकाको सुधारमा अदालत एक्लैले मात्र सफल नहुने बताए। उनले त्यसका लागि बारले समन्वय र सहकार्य गर्न आवश्यक रहेको औँल्याए।  

न्यायिक सुधारको क्षेत्रमा बार एसोसिएसनको भूमिकाको प्रशंसा समेत प्रधान न्यायाधीश श्रेष्ठले गरे। साधारण सभाको उद्घाटन समारोहमा बोल्ने वक्ताहरूले न्यायाधीश नियुक्तिको समेत विषय उठान गरेपछि उक्त कुराको स्पष्टोक्ति दिदैं प्रधानन्यायाधीश श्रेष्ठले नियुक्तिका विषयमा उठेको कुराको जवाफ कामबाट दिइने बताए। ‘विगत एक वर्षदेखि न्यायाधीश नियुक्ति हुन सकेको थिएन। जता पनि न्यायाधीश नहुँदा कार्यसम्पादन हुन सकेन भन्ने गुनासो बढेको थियो। कानुन व्यावसायीहरुको भावनालाई बुझेर एक महिनाभित्रै नियुक्ति प्रक्रिया अगि बढ्यो।’ उनले भने, ‘न्याय परिवदले पनि वरिष्ठता, कार्यक्षमता र इमान्दारितालाई हेरिएको होला भन्ने लाग्छ।’

 यसैगरी, नेपाल बार एसोसिएसनले आर्थिक वर्ष २०७८/७९ र ०७९/८० गरी दुई आर्थिक वर्षको एकै पटक साधारण सभा आयोजना गरिएको जनाइएको छ। साधारण सभामा देशभरबाट एक हजार बढी प्रतिनिधिहरू सहभागी भएको जनाइएको छ। देशभरबाट कानुन व्यवसायीहरू सुर्खेत पुगेका बेला यहाँका व्यवसायीहरूले दैलेखको पंचकोशी तथा रारासम्म जानका लागि सहजीकरण गर्ने बारमा उपाध्यक्ष उत्तम प्रसाद आर्चायले बताए।

प्रकाशित: १२ आश्विन २०८० १४:३३ शुक्रबार

चुनौतीको सामना गरेर गन्तव्यमा पुग्नुपर्छ: प्रधानन्यायाधीश प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ अदालतको कार्यसम्पादन नेपाल बार एशोसियसन पाल बार एशोसियसन सुर्खेत