समाज

३ सय रेडियोमा किशोरीद्धारा बहसमूलक कार्यक्रम

काठमाडौं– छैटौं अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा नेपालमा ३ सय किशोरीले सामुदायिक रेडियोमा नयाँ भूमिकामा निर्वाह गरेका छन्। बालबालिका तथा किशोरीहरुको समानताका लागि क्रियाशील अन्तर्राष्ट्रिय गैरसरकारी संस्था प्लान इन्टरनेशनल नेपाल र सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) नेपालको सहकार्यमा ३ सय किशोरीहरुले छुट्टाछुट्टै ३ सय रेडियोमा बहसमूलक कार्यक्रम सञ्चालन गरेका हुन्।

कार्यक्रममा विभिन्न जिल्ला प्रमुख जिल्ला अधिकारी, स्थानीय तहका निर्वाचित प्रतिनिधि जिल्ला शिक्षा अधिकारी, महिला तथा बालबालिका कार्यालयका प्रतिनिधि, जिल्लास्थित प्रहरी प्रमुख, अधिवक्ता, प्रधानाध्यापक, शिक्षक, सञ्चारकर्मी, अधिकारकर्मी, नागरिक समाजका अगुवा लगायतले किशोरीहरुले उठाएका प्रश्नको जवाफ दिंदै स्थानीय तहमा बालबालिका र किशोरीहरुको अधिकारका लागि काम गर्ने प्रतिवद्धता जनाएका थिए। काठमाडौंस्थित उपत्यकामा बहसमूलक कार्यक्रम सञ्चालन गरेकी रेजिना महर्जनले भनिन्– “पहिलो पटक रेडियोमा बोल्न पाउँदा खुशी लागेको छ, त्यसमा पनि आफ्नो उमेर समूहको सरोकारका मुद्धामा अन्तवार्ता लिंदा आत्मविश्वास बढेको छ।” किशोरी शिक्षाका कुरा, किशोरी नेतृत्व, बाल अधिकार र बाल संरक्षणका कुरा, महिला अधिकार, लैंगिक समानता, युवा अधिकार र बाल तथा युवा मैत्री स्थानिय शासन, स्थानीय तहको बजेट र कार्यक्रममा किशोरीलाई कति प्राथमिकता लगायतका बिषयबस्तुहरु समेटिएको थियो । अकोराब र सीआईएनको संयोजनमा सम्वन्धित रेडियो स्टेशनले किशोरीहरुलाई अन्तवार्ताका लागि चाहिने प्राविधिक ज्ञान, प्रश्न गर्ने तरिका, किशोरीहरुको समस्या र यसका पहिचानका उपाय लगायत बिषयमा अभिमुखीकरण तालिम प्रदान समेत गरिएको थियो।

प्रकाशित: २५ आश्विन २०७४ ११:२९ बुधबार

रेडियोमा किशोरीद्धारा बहसमूलक कार्यक्रम