समाज

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

बसको ठक्करले सशस्त्र प्रहरीका हवल्दारको मृत्यु

बसको ठक्करले बैतडी पाटन नगरपालिका ८ का सशस्त्र प्रहरी हवल्दार ४० वर्षीय नरेन्द्रसिङ महराको मृत्यु भएको छ। बाजुरामा कार्यरत महरा घर फर्किदै गर्दा दशरथचन्द राजमार्गको हरिचन मोडमा सुदूरपश्चिम यातायातको ना ८ ख ७९७० नम्बरको बसले ठक्कर दिएको प्रहरीको भनाइ छ। बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

वन फँडानी आरोपमा वडाध्यक्षसहित चार पक्राउ

रुकुमपश्चिममा वनको रुख फँडानीको आरोपमा चौरजहारी नगरपालिका–११ का वडाध्यक्ष तुल्से ओलीसहित चार जना पक्राउ परेका छन्। अवैध रूपमा सामुदायिक वन क्षेत्रका रुख फँडानी गरेको भन्दै वडाध्यक्षसहित ५१ वर्षीय कुले नेपाली, २६ वर्षीय विशाल केसी र ५१ वर्षीय दिलबहादुर शाहलाई डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको छ।

वयस्क बाघ मृत फेला

केही दिनदेखि गाउँ आसपासमा देखिएको एउटा वयस्क बाघ बाँकेको राप्तीसोनारी गाउँपालिका २ मदुईको कचनापुरस्थित अशोक सामुदायिक वनमा मृत अवस्थामा फेला परेको छ। घरपालुवा पशुचौपायालाई क्षति पु¥याउने गरेको उक्त बाघ कसैले मारेको हो या आफैं कालगतिले मरेको भन्ने परीक्षण रिपोर्ट आइनसकेको बाँके राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत श्याम शाहको भनाइ छ।

पर्यटकलाई भव्य स्वागत

हरेक वर्ष सेप्टेम्बर २७ जस्तै यो वर्ष  ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ पर्यटकीय सहर पोखरामा विश्व पर्यटन दिवस मनाइएको छ। पोखरा पर्यटन परिषद् ९पिटिसी०को अगुवाइमा बस तथा विमानमार्फत अवतरण गरेका आन्तरिक र बाह्य पर्यटकलाई पञ्चेबाजासहित स्वागत गरिएको थियो।

यातायात कार्यालय भरतपुरमा सांसद लामिछानेको छड्के

मनपरी बढेको भन्ने जनगुनासो बढेपछि चितवन निर्वाचन क्षेत्र नम्बर २ का सांसद रवि लामिछानेले यातायात कार्यालय भरतपुरको अनुगमन गरेका छन्। देशभर सवारी लाइसेन्स लिँदा गर्नुपर्ने आँखा परीक्षणमा अन्य कार्यालयमा अधिकतम १ सय २० रुपैयाँ मात्र लिदा भरतपुरमा भने ३ सय ५० रुपैयाँ लिने गरेको भन्दै त्यसलाई तत्काल रोक्न लामिछानेले निर्देशन दिएका छन्।  

दुई दिनमा दुई जनाको हत्या

असुरक्षित बन्दै गएको बारामा दुई दिनमा दुई जनाको हत्या भएको छ। आइतबार मध्यरात दसगजामा सशस्त्र प्रहरीका पूर्वजवान पचरौता १ पिपरपातीका ३४ वर्षीय अमरेश सिंहको धारिलो हतियार प्रयोग गरी हत्या हुँदा मंगलबार राति पचरौता नगरपालिका ६ पकडीया गाउँको लक्ष्मीनिया पोखरी डिलमा भारतीय नागरिक २२ वर्षीय अजित कुमार सिंहको गोली हानी हत्या भएको हो।  

वीपीका चिकित्सक आकस्मिक सेवा छाडेर आन्दोलनमा

आकस्मिक सेवा समेत छोडेर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासिय चिकित्सक आन्दोलनमा उत्रिएका छन्। आक्रमण गर्नेलाई कारबाही गर्न र सुरक्षाको प्रत्याभूतिको माग गर्दै चिकित्सकको आन्दोलनले इमर्जेन्सी,आइसियु सेवा समेत प्रभावित बनेको छ।

  

प्रकाशित: १० आश्विन २०८० १३:२० बुधबार

सात प्रदेशका सात समाचार