समाज

तरकारीलाई ताजा बनाएर राख्न कोल्ड स्टोर निर्माण हुँदै

इटहरीमा निर्माणाधीन कोल्ड स्टोर। तस्बिर: नागरिक

अन्नबाली उत्पादनको उर्वर भूमि मानिएको सुनसरीमा पछिल्लो समय तरकारी उत्पादनको मुख्य पकेट क्षेत्र बन्दै आएको छ। खेतीयोग्य जमीनलाई सदुपयोग गरेर तरकारी खेती गर्नेको सङ्ख्या बढ्दो छ।

तरकारी खेतीको पकेट क्षेत्र बन्दै गएपनि उत्पादित सामग्रीलाई ताजा बनाएर राख्नका लागि जिल्लाभर कोल्ड स्टोर थिएनन्। पछिल्लो समय भने स्थानीय तहले कोल्ड स्टोर निर्माणलाई तीव्रता दिएका छन्।

यसैक्रममा २३ करोडभन्दा बढी रुपैयाँको लगानीमा इटहरीमा कोल्ड स्टोरसहित बजार व्यवस्थापन थालिएको छ। वडा नं. ९ मा अहिले साप्ताहिक रूपमा आइतबार र बुधबार बजार लाग्दै आएको स्थानमा कोल्ड स्टोरसहित बजार व्यवस्थापन गर्न लागिएको इटहरीका नगरप्रमुख हेमकर्ण पौडेलले बताए।

कोल्ड स्टोर भने बहुतले हुने छ। कोल्ड स्टोरमा अण्डरग्राउन्ड पार्किङको व्यवस्था पनि गरिनेछ। कोल्ड स्टोर बनेपछि सिजनका बेला बढी भएको तरकारी भण्डारण गर्न सकिने छ भने अफ–सिजनका बेला त्यही तरकारी मागअनुसार बजारमा आपूर्ति हुनेछ।

इटहरी क्षेत्रका किसानले यति बेला उत्पादित कृषि उपजको भण्डार क्षमता नहुँदा किसानले पनि मूल्य नपाउने र सर्वसाधारणले पनि बढी मूल्य तिर्नुपर्ने बाध्यता छ।

उता, दुहवीमा एक करोड ५० लाख रुपैयाँको लगानीमा कोल्ड स्टोर निर्माण भएको छ। कोल्ड स्टोरका लागि कोशी प्रदेश सरकारले ४० लाख, स्वीस परियोजना अन्तर्गत सहज कार्यक्रम अन्तर्गत ४६ लाख र बाँकी नगरपालिकाकाले लगानी गरेको हो।

साना फुलफूल व्यापारीलाई लक्षित गरेर स्टोर निर्माण गरिएको नगरप्रमुख वेदनारायण गच्छदारले बताए। उनका अनुसार कोल्ड स्टोरमा तीनवटा चेम्बर रहेका छन्। दुई वटा चेम्बरमा २५–२५ मेट्रिक टनको क्षमता रहेको छ भने एउटामा २० मेट्रिक टन क्षमताको रहेको छ। दुहवी वडा नं. १० मा थप अर्को एक सय मेट्रिक टनको कोल्ड स्टोर निर्माणाधीन रहेको छ।

सुनसरीका किसानले उत्पादन गरेको तरकारी जिल्लाको थोक बजारबाट पूर्वका नाम चलेका प्रायः सबै बजारमा पुग्ने गर्छ। पूर्वका बजारबाहेक राजधानी काठमाडौँ पनि यहाँको तरकारी जाने गरेको छ। यहाँका किसानले सरदर सात हजार हेक्टरमा तरकारी खेती गर्ने गरेका छन्।

प्रकाशित: १० आश्विन २०८० १२:३३ बुधबार