समाज

फितलो छ, फर्क वैज्ञानिक कार्यक्रम

काठमाडौं- नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले गत वर्षदेखि सुरु गरेको ‘फर्क है फर्क वैज्ञानिक, तिमीलाई डाक्छ नेपाल’ कार्यक्रमको नारामा मात्र सिमित भएको छ । नाराले विदेशमा रहेका नेपाली वैज्ञानिकलाई स्वदेश फर्काउने उद्देश्य लिएको छ तर वास्तविकता भने त्यस्तो देखिँदैन ।
नास्टले फर्कन आग्रह गरेका वैज्ञानिकले तीन महिनादेखि एक वर्षसम्म नेपालमा अनुसन्धान गर्नुपर्ने प्रावधान छ । त्यसपछि वैज्ञानिकको भविष्य के हुने भन्नेमा नास्टले केही उल्लेख गरेको छैन । ‘सीमित बजेट र स्रोतसाधनको अभावमा अहिल्यै वैज्ञानिकलाई स्वदेश फर्काएर काममा लगाउन सक्ने अवस्था छैन,’ नास्टको प्रबद्र्धन तथा प्रचार विभाग प्रमुख रमिला राउतले भनिन्, ‘यस कार्यक्रममा सहभागी हुन कहिँकतै काम गरिरहेका भए बिदामा नेपाल आएका बेला अनुसन्धान गर्न सक्छन् ।’ यही कार्यक्रमका लागि बाहिर काम गरिरहेकाहरू छोडेर जोखिम मोल्न नचाहने उनी बताउँछिन् । यहाँ आउनेहरू बिदा मिलाएर वा बिदा लिएर आउन सक्छन् । छोडेरै आउने भन्ने होइन, उनले भनिन् ।
नास्टका उपकुलपति प्राध्यापक डा. जीवराज पोख्रेल भने यो कार्यक्रम अन्तर्गत फर्किएका वैज्ञानिकलाई दीर्घकालसम्म पनि व्यवस्थापन गर्न सकिने बताउँछन् । विदेशमा रहेका विलक्षण प्रतिभालाई स्वदेशमै काम दिन यो कार्यक्रम ल्याइएको  उनी बताउँछन् ।   
नास्टले तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पालामा विस २०६६ देखि प्रतिभा प्रबद्र्धन कार्यक्रम सुरु गरेको थियो । उक्त कार्यक्रम अन्तर्गत मास्टर्स डिग्री पूरा गरेका, पिएचडी गर्दै गरेका तथा पिएचडी गरेकाहरूलाई रिसर्च फेलोका रूपमा लिने गरेको छ । यस अन्तर्गत पिएचडी गर्दै गरेकालाई चार वर्ष र पिएचडी पूरा गरेकालाई एक वर्षसम्म अनुसन्धानको अवसर दिने गरेको प्रतिभा प्रबद्र्धन कार्यक्रमका एकाइ प्रमुख डा. भोजराज पन्त बताउँछन् । कार्यक्रम अन्तर्गत नास्टले सरकारसँग ४८ करोड रुपैयाँ माग गरेको थियो । तर सरकारका तर्फबाट एक करोड ५० लाख रुपैयाँ मात्र आएपछि यो कार्यक्रम पनि सोचे अनुसार प्रभावकारी हुन सकिरहेको छैन । २०७०÷०७१ म एक वर्ष यो कार्यक्रम बजेट अभावले रोकिएको थियो ।
हाल नास्टले सुरु गरेको ‘फर्क वैज्ञानिक’ पनि समान किसिमका कार्यक्रम भएको उनको भनाइ छ ।
यो कार्यक्रम अन्तर्गत छोटो अवधिमा विदेशमा रहेका वैज्ञानिकबाट सीप र दक्षताको सदुपयोग गर्ने भनिए पनि छोटो अवधिमा सोचेजस्तो उपलब्धि नहुने उनी बताउँछन् । यो कार्यक्रमको कार्यविधि बनाउँदा नै त्रुटी भएको भन्दै उनी कार्यक्रमको नारा अनुसार वैज्ञानिकहरूको भविष्य पनि सुनिश्चित गर्नुपर्ने बताउँछन् । उनीहरूको भविष्य सुनिश्चित नगरी ज्ञान र सीप ल्याउने कुरा सहज नभएको उनको भनाइ छ ।
नास्टले गत वर्ष माग २१ गते पहिलो पटक सार्वजनिक सूचना  जारी गर्दै अभियान सुरु गर्दा विभिन्न मुलुकबाट १८ जनाले आवेदन दिएकामा पाँच जनाको योग्यता पुगे पनि २ जनाले मात्र अनुन्धान गरेका थिए । यो वर्ष पनि गत साउन १७ मा सूचना प्रकाशित गर्दै आवेदन खुलाएको छ । यो कार्यक्रम अन्तर्गत अनुसन्धानका लागि प्राथमिकतामा राखेका क्षेत्रमा वातावरण तथा जलवायु परिवर्तन, ऊर्जा, यातायात, विपद् जोखिम न्यूनिकरण, जनस्वास्थ्य, कृषि तथा खाद्य सुरक्षा एवं जैविक विविधता लगायतका विषय छन् ।
कार्यक्रममा सहभागी हुन विदेशमा रहेका नेपाली तथा गैरआवासीय नेपाली नागरिक हुनुपर्ने, विज्ञान प्रविधिका विषयमा कम्तिमा स्नातकोत्तर वा सोभन्दा माथिको उपाधि हासिल गरेको, सम्बन्धीत विषयमा उच्च अनुसन्धान गरी साइन्टिफिक साइटेसन इन्डेक्स (एससीआई) को राष्ट्रिय तथा अन्तराष्ट्रिय जर्नलमा कम्तिमा पाँच वटा शोधपत्र लेखेको हुनेपर्ने लगायतका मापदण्ड छन् ।

प्रकाशित: २३ आश्विन २०७४ ०४:२२ सोमबार

फितलो फर्क वैज्ञानिक कार्यक्रम