समाज

न्याय पाउन देवी देउताको शरण !

मुगु- कोजाग्रत पुर्णिमाको विहान सोरु गाउँपालिका वडा नम्बर ८ गिलाह गाउँमा गुरा, विजयी देवताको ठूलो मेला लागि रहेको थियो। धामीहरु नाच्ने तयारीमा थिए भने दमाहाको बाजा घन्किन थालेको थियो। त्यही बेला  सोरु गाउँपालिका वडा नम्बर ६ जिमा गाउँका धनबहादुर विक र कमला विक साथमा सानो छोरालाई बावियोको नाम्लोमा बाँधिएर रुदै देवताको मन्दिर परिसरको चौरमा घोप्टो परेर बसे।

यसको कारण थियो लावड परिवारले भोग चलन गर्दै आईरहेको जग्गा अरुले नै हडपे पछि उनि जग्गा फिर्ता गराई माग्न देउताको शरणमा आएका हुन । लावडका काका पर्नेले एक वर्ष अघि खेतमा लगाईएको बाली सहित जग्गा हडपे पछि जमिन विहिन भई बिचल्लीमा परेका लावडले न्याय पाउन देवता कहाँ आएको बताए । केही वर्ष आफुले आफ्नो जग्गा नपाए पछि केही वर्ष अघि गुरा, विजयी देउताले नै जग्गा दिलाउन लगाएको र एक वर्ष अगाडी विरामी पर्दा उपचार गराउन नेपालगञ्ज गएको वेला काकाले बाली सहित पुन जग्गा हडपे पछि न्याय माग्न फेरी देउता कहाँ आएको उनले बताए । कानुनी प्रक्रिया अपनाउँदा अदालती प्रक्रियाबाट ढिलो फैसला हुने भएकाले छिटो न्याय पाउन देउतालाई गुहार मागेको लावडको भनाई छ।

जग्गा मुद्दा मात्र होईन , सम्बन्ध, विच्छेद, माना चामल , साँध सिमान विवाद लगायत धेरै विषयमा सोरु क्षेत्रका स्थानीयवासीले देवी देउतालाई गुहार माग्ने गरिरहेका छन् भने देउताकै निर्णयमा उनिहरु चल्ने गरेको स्थानीयवासी दानबहादुर शाहीले बताए। न्यायका लागि सदरमुकाम गमगढी धाएर अदालती प्रक्रियामा जाँदा फैसला हुन निकै समय लाग्ने र जसका कारण पीडीतले थप पिडा भोगि रहनु पर्ने भएकाले पनि स्थानीयवासीहरुले परम्परा देखि नै देउतालाई न्याय मुर्तिका रुपमा मान्दै आएको  शाहीले पनि बताए।

प्रकाशित: २० आश्विन २०७४ १२:२८ शुक्रबार

न्याय पाउन देवी देउताको शरण