समाज

चोरिएका भगवान्को चिन्ता

‘सशस्त्र प्रहरीको केन्द्रीय कार्यालयअघिबाट आकाश भैरवको मूर्ति चोरी हुँदा त्यहाँ कसैले थाहा पाएन! तोडफोड गरेर मूर्ति चोरियो, पुजारीलाई लात्ता हानियो, तर प्रहरीलाई थाहा हुन्न!,’ चोरिएका मूर्ति फिर्ता अभियानमा लागेका काठमाडौं ठःहिटीका यादवलाल कायस्थको भनाइ हो यो। उनी भन्छन्, ‘त्यो मूर्ति लाखौं व्यक्तिको आस्थाको धरोहर थियो। यसैले मूर्ति हराएकोमा चिन्ता होइन, भगवान हराएकोमा हो, आस्था हराएकोमा हो, विश्वास हराएकोमा हो।’

आइतबार नेपाल पर्यटन बोर्डको सभाहलमा यसैगरी हराएका भगवानका लागि चिन्ताका स्वरहरू सुनिए। ‘चोरिएका मूर्तिहरूसँग हाम्रो धर्म, संस्कृति, सभ्यता र सिंगो इतिहास चोरिएको छ। हामीकहाँ कम्तीमा पनि दोस्रो शताब्दीदेखिका मूर्तिको भण्डार छ। लिच्छिवीकालदेखिको धर्म परम्परा छ,’ संस्कृतिविद् डा. गोविन्द टण्डनले भने, ‘विरासतमा प्राप्त यती पुरानो र प्राचीन धर्मपरम्पराका अमूल्य निधि चोरी हुनु कम्ता दुःखदायी विषय होइन।’

मूर्ति चोरी हुनुभन्दा बढी चिन्ताजनक विषय राज्य सयन्त्रमा बसेकाहरूको फट्याइँ रहेको रहेको टण्डनको बुझाइ छ। ‘चाल्र्स शोभराज नेपालको एयरपोर्टबाट हात्ती छिराउन सक्छु भन्थे, त्यत्तिकै भनेको होइन। हात्तीभन्दा ठूल्ठूला मूर्ति त्यहीँ एयरपोर्टबाट छिरेर बाहिरिएका त हुन नि!,’ उनले भने।

नेपालका मूर्तिहरू चोरीको इतिहास लामो भए पनि सन् १९६५ देखि १९७८ का बीचमा चलेको ‘हिप्पीवाद’का बेला अत्याधिक मूर्तिहरू चोरी भएर विदेश पुगेको टण्डनले बताए। उनले भने, ‘हिप्पीवादमा पैसा चाहिने, कहाँबाट ल्याउनेभन्दा मूर्ति चोरेर बेच्ने क्रम चल्यो, त्यहीबेला चोरिएकामध्ये ८० प्रतिशत मूर्ति विदेश पुगेका छन्।’

पछिल्लो समय चोरिएका मूर्ति स्वदेश फर्काउन केही अभियान पनि चलेका छन्। यस्तै अभियान्ता समेत रहेका रवीन्द्र पुरीले नेपाली आस्थाका धरोहर रहेका अमूल्य मूर्तिहरू चोरीका कथा सुन्दा मन भक्कानिएर आउने बताउँछन्। ‘कहाँकहाँबाट हराए भन्दा राष्ट्रिय अभिलेखालयबाट हराए, प्रहरी  कार्यालयअघिबाट हराए।

पशुपति, तलेजु, स्वयम्भूजस्ता पवित्र धामबाट हराए। हज्जारौंको संख्यामा हराए, जसको कुनै लेखाजोखा नै छैन,’ उनी भन्छन्, ‘नेपाली समाजको आस्थाका अनमोल रत्नहरू यहाँबाट चोरिएर अमेरिका, बेलायत, फ्रान्स, इटाली, अष्ट्रेलिया, चीनका सग्रहालयदेखि व्यक्तिका घरमा सजावट, सानसौकतका साधन बनेका छन्। यहाँ हाम्रा भगवान हराएका छन्।’

आफूले अभियान सञ्चालन गर्दैगर्दा आफ्ना भगवान हराउँदा भिजेका आस्थाका आँखाहरू अझै रसाइरहेको देख्दा मन भक्कानिएको उनले सुनाए।

नेपालबाट चोरिएका मूर्तिहरू विदेशमा मोलमोलाइ चलेको देख्दा विरक्त लाग्ने संस्कृतिविद् डा. रमेश ढुंगेल बताए। ‘शक्ति राष्ट्रहरूले औपनिवेशिक कालमा आफ्नो शक्ति देखाउन विश्वका देशहरूका कलाकृति, सम्पदा चोरेर, लुटेर लगेर संकलन राख्ने गरेका थिए। यही क्रममा हाम्रा आस्थाका धरोहरहरू त्यहाँ पुगे,’ उनले भने, ‘उनीहरूका लागि ती मूर्तिहरू अहिले मोलमोलाइका वस्तु बने।

हाम्रा लागि त मोलमोलाइका वस्तु थिएनन्। आस्थाका धरोहर थिए।’ ढुंगेलले आफू विद्यावारिधि गर्नेक्रममा पश्चिमा देशका संग्रहालय चहारेर खोज्दा तमाम नेपालका मूर्तिहरू देखेको बताए। ‘ती हाम्रा भगवान्का मूर्ति र सम्पदा हुन। चोरिएर त्यहाँ पुगेका हुन्। तर, कतिपय अवस्थामा हाम्रा हुन भन्न र चोरिएको पुष्टि गर्न कानुनी प्रमाण कम पर्ने अवस्था छ,’ उनले भने।

नेपालबाट चोरिएका मूर्ति र तीनको घरफिर्तीका सन्दर्भमा बारबरा फाउन्डेसनले आयोजना गरेको ‘स्टोलन इमेजेज अफ नेपाल’ विषयक सरोकारवालासँगको संवाद गोष्ठीमा यी चिन्ता प्रकट भएका हुन्।

कार्यक्रममा फाउन्डेसनका अध्यक्ष डा. सन्दुक रुइतले चोरिएका नेपाली सम्पदा फिर्ता गर्ने सन्दर्भमा बिगतमा पनि उल्लेखनीय काम भएको बताउँदै आगामी दिनमा अझै प्रभावकारी रूपमा जुट्नुपर्ने बताए। ‘विगतमा भएका कामहरू, अनुसन्धानबाट प्राप्त सूचनाहरूको सहायताले थप सूचना जुटाउँदै हाम्रा सम्पत्तिहरू फिर्ता गराउन सरोकारवाला लाग्नुपर्छ,’ रुइतले भने, ‘यसमा राज्य झन् जिम्मेवार भएर लाग्नुपर्छ।’

सन् १९७० मा संयुक्त राष्ट्रसंघको ‘सांस्कृतिक सम्पत्तिको स्वामित्व, अवैध आयात, निर्यात र स्थानान्तरणको निषेध र रोकथामसम्बन्धी महासन्धि’ले चोरी निकासी भएर अर्को देश पुगेका सम्पदाहरू उचित क्षतिपूर्तिसहित फिर्ता गर्नुपर्ने व्यवस्था गरेको छ।

उक्त महासन्धिको पक्ष राष्ट्रमा नेपालको मूर्ति वा अन्य सांस्कृतिक वस्तु निकासी भएको जानकारी भए सम्बन्धित देशले सोबारे जानकारी गराएर मूर्ति फिर्ता गर्नुपर्ने व्यवस्था छ।

यही व्यवस्थाअनुसार अहिले नेपालबाट चोरिएर विदेश पुगेका मूर्तिहरू फिर्ता गराउन विभिन्न अभियानहरू चलिरहेका छन्। जसअन्तर्गत पुरातत्व विभागमा हालसम्म दुई सय ३७ मूर्ति चोरी भएको अभिलेख दर्ता हुनआएकामा ५९ वटा प्राप्त भएको विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्गले बताइन।

‘नेपालबाट कति मूर्ति हराए भन्ने एकीन डाटा नभए पनि उजुरीका आधारमा यो डाटा छ। वास्तविक संख्या अझै ठूलो छ,’ उनले भनिन्, ‘हामीसँग सीमित जनशक्ति भएकाले संख्या यकिन गर्न गाह्रो छ।’ विदेशमा भेटिएका ६२ मूर्ति फिर्ता ल्याउनका लागि पहिचान विवरण यकिन भइसकेको पनि उनले बताइन्।

प्रतिनिधिसभा सदस्य स्वर्णिम वाग्लेले मुलुकको विकासका लागि भ्यु टावर र सडक मात्र बनाउनेभन्दा पनि चोरिएको र विस्थापित भएको सम्पदा फिर्ता ल्याउनु पनि जरुरी रहेको बताए।

‘अहिले पश्चिमा देशमा पनि नयाँ युवा राजनीतिक चेत भएको जमात तयार भइसक्यो। उनीहरू अब औपनिवेशिक कालको सोचभन्दा माथि उठिसकेका छन्,’ उनले भने, ‘हाम्रो नेपाली डायस्फोरा पनि विकसित रूपमा ती देशमा पसिसकेको छ। त्यहाँको राजनीति, समाज र लगानीकर्तामाझ स्थान बनाइसकेको छ। यस्तो अवस्थालाई उभारको रूपमा प्रयोग गरेर हाम्रो सम्पदा फिर्ता ल्याउनसक्ने वातावरण बनेको छ। अब राज्यले पनि ध्यान दिनुपर्छ।’

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले संघीय सरकारले थोरै अग्रसरता देखाउन जरुरी रहेको बताए। उनले भने, ‘कतिपय कुरा स्थानीय सरकारबाट मात्रै सम्भव नहुने रहेछ। संघीय सरकारको कूटनीतिक तदारुकता चाहिने रहेछ। यसैले यसतर्फ ध्यान पुग्नु जरुरी छ।’ आफ्नो क्षेत्रबाट विदेशमा रहेका मूर्तिहरू फिर्ता गराउन लगानी लगाउन तयार रहेको उनले बताए।  

प्रकाशित: ८ आश्विन २०८० ०१:५४ सोमबार

चोरिएका भगवान्को चिन्ता सशस्त्र प्रहरीको केन्द्रीय कार्यालय