समाज

दुर्गमको हवाई टिकटमा व्यापक अनियमितता

बाजुरा- कोल्टी विमानस्थलबाट उडानहुने विमान कम्पनीहरुले मनोमानी भाडा असुल गर्ने गरेको खुलासा भएको छ । कम्पनीहरुले दशैं विदामा घर जाने यात्रुहरुबाट मनोमानी भाडा असुल गर्ने गरेको यात्रुहरुले बताएका छन् । ३ हजार ७ सय ६० रुपैयाँ भाडा कायम गरिएको भएपनि कसैले कार्यान्वयन गरेका छैनन्।

दशैको मुखमा आएर दोब्बरले भाडा वृद्धि गरेका छन् । उनीहरुले बाजुराको कोल्टीबाट नेपालगञ्जसम्म ५ हजारदेखि ७ हजार सम्म भाडा लिने गरेको पाईएको छ । जागिर र अन्य व्यवसायको शिलशिलामा हुम्ला, मुगु बाजुरामा बस्दै आएका शिक्षक, व्यापारी, कर्मचारी लगाएतबाट खुलेआम मोटो रकम असुल गर्ने गरेका भएपनि सम्बन्धीत निकायहरु भने मौन छन्।

४५ मिनेटको यात्रामा सबै भन्दा बढी भाडा लिएको यात्रुहरुको गुनासो छ । कोल्टी विमान स्थलबाट नेपालगञ्ज र सुर्खेतमा चल्ने गोमा, काष्ठमाण्डप, मकालु, सीता, स्रिमीक नेपाल एयर लाइन्सका ट्वीनेटर विमानहरु नियमित उडान हुने गरेका छन्।

प्राईभेट हवाई जहाजले प्रचलित टिकट दरभन्दा अनियमित तरिकाले भाडा असुल्ने गरेको यात्रुहरुले गुनासो गरेका छन्। यात्रु र जानकारहरुका अनुसार प्राईभेट एयरलाइन्सहरुले यात्रुहरुको टिकटदर नागरिक वडा पत्र तथा सार्वजनिक सूचनापाटीमा उल्लेख गरिएको छैन।

            अन्य प्राईभेट एअरलाईन्सहरुको अस्वस्थ प्रतिष्प्रर्धाका कारण तारा एअर प्रालिले नेपालगंज बाजुराको नियमित सहुलित उडान समेत प्रभावित भएर यात्रुहरु मर्कामा परेका छन् । चर्को भाडादरमा प्राइभेट एअरलाइन्समा टिकट लिनु परेको गुनासो यात्रुहरुको छ ।

            यातायातको अन्य कुनै पनि विकल्प नभएपछि बाजुरा, मुगु, हुम्ला लगाएतका यात्रुहरु टिकट दलाली र विचौलीयाबाट ठगिन पुगेका छन् । सवै भन्दा विरामी, सर्वसाधारण र पहुँच नहुनेले हवाई टिकट पाउँदैन पाएपनि भोलि भोलि भन्दै कोल्टीमै थन्काईन्छ र टिकट र्फिता माग्दापनि नदिने दुइ तीन दिन पछिमात्र पठाउने गरेको छ।

            नीजि एअरलाइन्सले मनोमानी ढंगले रकम असुल्ने र नातावाद, किर्पावाद तथा राजनीतिक आस्थाका आधारमा टिकट वितरण गर्ने गरिएको भेटिएको छ । तारा, गोमा, मकालु र काष्ठमण्डपले हवाई सेवा बाजुरामा गरे पनि विकल्पको रुपमा मात्र उडान गर्ने गरेका छन् ।

हप्तामा कम्तिमा एक सहुलियत उडान दिनुपर्ने हुन्छ । तर बाजुरामा यो सेवा यी एअरलाइन्सले दिएका छैनन् । कम्पनीले खुलेआम ठगी गर्ने गरेको सञ्चार कर्मी अनिल शाहीले बताए । नगरपालिका र स्थानीय प्रशासनको मौनता र बेवास्ताकै कारण मनोमानी बढेको शाहीले थपे ।

आफू अनुकुल उडान भर्ने र मनोमानी भाडा असुल्ने कार्य भईरहँदा नागरिक उड्यन कार्यालय कोल्टी पनि मौन छ । चार्टर गर्नु पर्ने र नेपालगञ्जबाट खाली आउनु पर्ने बाहना बनाएर विमान कम्पनीले मोटो रकम असुल्ने गरेका छन् । राजनीतिक सिफारिस लिएकाहरुले बोडिङ पास समेत नलिई विना टिकट उड्ने गरेका छन्

बुधबार बसेको सर्वपक्षीय बैठकमा नागरिक उड्यन कार्यालयका निमित्त कार्यालय प्रमुख सोम परियारले भित्री रुपमा केही कमजोरी भएपनि भनेजति सत्यता नभएको बताए ।

यो क्षेत्रका जनताको आर्थिक स्तर राम्रो भएर होइन बाध्यताले हवाई सेवा प्रयोग गर्छन् । सानो ठूलो विराम लाग्दा विरामी र संरक्षक अनि व्यापारी तथा अन्य हरेक पेशा र व्यवसायका यात्रुहरुले हवाई सेवा प्रयोग गर्छन् । तर सजिलै रुपमा सर्वसाधारण र पहुँच नभएको व्यक्तिले टिकट पाउने सम्भावना छैन । नेपालगंजमा हुने टिकट दलाली र विचौलीयाको रोग बाजुरामा पनि आएको सर्वसाधारण यात्रुहरुको गुनासो छ ।

            मनोमानी ढंगले टिकट वितरण र पैसा लिएको गुनासो बारम्बार उठ्ने गरेकोछ । नातावाद, किर्पावाद हावीछ । नाम लेख्ने अनि विरामी, दु:खी गरीवको नाममा सहुलियत र सहानुभूति दिने परिपाटी छैन । कम्पनीले पनि केही कुरामा सुधार गर्न जरुरी रहेको मकालु एयरका बाजुरा प्रतिनिधि जनम धामीले बताए।

अनियमितता रोक्न सर्वपक्षिय सहमति

हवाई टिकटमा व्यापक अनियमितताको आरोप बढेपछि बुधबार सर्वपक्षिय बैठक बसेको छ । विमान स्थल सुरक्षा गार्ड कोल्टीको पहलमा बैठक बसेर अनियमितता रोक्ने विषयमा सर्वपक्षीय सहमतिको निर्णय भएको छ।

सुरक्षा गार्डका प्रहरी नायव निरीक्षक सुन्दरसिंह बोहराको अगुवाईमा बसेको बैठकमा बुढीनन्दा नगरपालिका २ का अध्यक्ष भीमबहादुर कार्की, ५ अध्यक्ष दलबहादुर भाट, नागरिक उड्यन कार्यालयका निमित्त कार्यालय प्रमुख सोम परियार, नेपाल एयरका प्रमुख नरेन्द्र रावल सहीतको उपस्थितिमा उक्त सहमति भएको हो ।

बैठकले आगामी दिनमा अनियमितता गरेको भेटिएमा गर्ने विमान कम्पनीलाई कारवाही गर्ने र उडान गर्न नदिने सहमति भएको छ। यात्रुहरुलाई मर्कामा पार्ने गरि गरिएको कार्यको बैठकले भत्र्सना गरेको छ।

प्रकाशित: १८ आश्विन २०७४ १३:३८ बुधबार

दुर्गमको हवाई टिकटमा व्यापक अनियमितता