समाज

जंगलप्रतिको निर्भरता हटाउन गोबरग्यास विकल्प

कालाबन्जर – नङ्ग्रे पोथी बाघको आक्रमण बढ्न थालेपछि नारायणी नदीको पूर्वी तटका स्थानीयवासी वन्यजन्तुप्रति आक्रामक थिए । उनीहरू र चितवन निकुञ्जका वन्यजन्तुबीच १४ वर्षदेखि द्वन्द्व चलिरहेको थियो। 

अहिले अवस्था ठिक उल्टो भएको छ । नङ्ग्रेपोथी मात्र होइन, यस क्षेत्रमा देखापर्ने अन्य वन्यजन्तुका लागि पनि अनुकूल वातावरण बनाइदिने काममा जुटेका छन् । आफ्नो सुरक्षा र वन्यजन्तुको क्षति कम गर्ने ध्याउन्नमा छन् । तीनै वन्यजन्तुलाई देखाएर पर्यापर्यटनको विकास गरी होम स्टे चलाउने योजना बुन्दैछन् । यसमा जनप्रतिनिधिहरू स“गस“गै छन् । यस अभियानलाई केही परियोजनाले साथ दिइरहेका छन्।  

‘दुई वर्षअघिसम्म यहा“का मान्छे वन्यजन्तुप्रति यति उदार थिएनन् । विभिन्न संघसंस्थाको सहयोगमा संरक्षणसम्बन्धी चेतनामूलक कार्यक्रम गरेपछि परिवर्तन आएको हो’, कालाबन्जर मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष रेबिजङ गुरुङले  भने। 

उनका अनुसार यस क्षेत्रमा आदिवासीको बाहुल्य छ । सर्वसाधारण नारायणी तटका सामुदायिक वनमा निर्भर छन् । नारायणीमा माछा मार्न जान्छन् । सामुदायिक वन र निकुञ्जभित्र घाँस, दाउरा गर्न र निउ“रो टिप्न पुग्छन् । वर्षमा एकपटक खर काट्न छिर्छन्। 

‘यस्तै बेला बासस्थान बनाएर बसेको नङ्ग्रे पोथीले सर्वसाधारणलाई आक्रमण गरेको हो । यस क्षेत्रमा मात्र २० जना मारेको छ’, उनले भने, ‘तर पछिल्लो समय मानवीय क्षति घटिरहेको छ । वन र निकुञ्जप्रतिको निर्भरता कम गर्ने खालका कार्यक्रम सञ्चालनले क्षति कम  हुँदैछ।’

गुरुङका अनुसार ‘लिभिङ विथ टाइगर’ परियोजनाले यस क्षेत्रका प्रस्तावित देवीस्थान मध्यवर्ती सामुदायिक वन उपसमितिअन्तर्गत दियालो, हीराकुञ्ज, नारायणी, स्वेटी बर्दाह, जोगीकुटी सामुदायिक वन र तिनका उपभोक्तामाझ द्वन्द्व समाधानका पूर्वतयारीका विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । करिब २५४ घरधुरीमा विभिन्न किसिमका कार्यक्रम सञ्चालन गरिरहेको छ । यस परियोजनाले मध्यवर्ती व्यवस्थापन परिषद्, निकुञ्ज प्रशासन र राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा काम गरिरहेको छ। 

‘यसको आर्थिक सहयोगमा वन्यजन्तुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन सक्यांै, तर व्यवहार परिवर्तन भएन । व्यवहार परिवर्तन गर्न जंगलप्रतिको निर्भरता घटाउने कार्यक्रम गर्न परियोजनालाई आग्रह गरियो’, उनले भने, ‘अहिले जंगल पस्ने कम छन् । उनीहरूलाई गोबरग्यासको व्यवस्था गर्दैछांै । दाउरा खपत घटिरहेको छ।’
गुरुङका अनुसार संरक्षणमुखी कार्यक्रममा असहयोग गरेका सर्वसाधारणसमेत सहयोगी भइरहेका छन् । ‘१६ घरधुरीमा सुरक्षित बाख्राको खोर बनाइदिएका छांै । ८ परिवारलाई गोबरग्यासको व्यवस्था गरेका छाैँ’, उनले भने, ‘अहिले सबै उपभोक्ताले खोर र गोबरग्यास मागिरहेका छन् । पुर्‍याउन गाह्रो छ।’ 

हीराकुञ्ज सामुदायिक वन उपभोक्ता समूहका हेरालु खिलबहादुर विक भन्छन्, ‘बाख्राको खोर बलियो बनाएपछि ढुक्कस“ग सुत्न पाइएको छ । बाख्रा ओभानोमा बस्न पाएका छन् ।’ उनले पहिलेपहिले चितुवा, स्यालजस्ता वन्यजन्तुले बाख्रो थुतेर लैजान्थे । रातिमा खिस्रिक्क आवाज आए पनि उठ्न पर्थ्याे । ‘बाख्रालाई फराकिलो ठाउँमा बस्न पाएका छन् । रोगव्याधि धेरै लागेको छैन’, उनले भने। 

समितिले पुराना खोर मर्मतसम्भार गरेर फराकिलो बनाइदिएको छ । वरिपरिबाट मेस जालीले बेरेको छ । जमिनबाट करिब डेढदेखि दुई फिट उचाइमा बनेका छन् । बाख्रा बस्ने ठाउँमा फल्याक र वरिपरि जालीको सपोर्टका लागि काठ प्रयोग गरिएको छ । छानामा जस्ता पाता छन् । ‘खोरको माग धेरै बढेको छ’, अध्यक्ष गुरुङ भन्छन्, ‘पहिला वास्ता नगर्नेहरूले समेत माग्न थालेका छन्।’

लिभिङ विथ टाइगर परियोजनाका चितवन अधिकृत प्रकाश चापागार्इं गोरबग्यासको तुलनामा खोरको माग धेरै भएको बताउ“छन् । ‘कालाबन्जर क्षेत्रमा यस वर्ष २२ वटा खोर निर्माण भइरहेको छ’, उनले भने। 

चापागाईंका अनुसार निकुञ्जको दक्षिणस्थित माडीको अयोध्यापुरीमा पनि खोरको माग बढेको छ । ‘अयोध्यापुरी कालाबन्जरभन्दा बढी प्रभावित क्षेत्र हो । हरेक दिन वा दिन बिराएर चितुवाले एउटा न एउटाको घरबाट बाख्रा लान्छ–लान्छ’, उनले भने। 

माडी नगरपालिका–९ का पचास वर्षीय वडा सदस्य सन्तबहादुर तामाङ भन्छन्, ‘चितुवाले चितवनमा खोरबाट सबैभन्दा धेरै बाख्रा तान्ने ठाउँ यही हो ।’ उनका अनुसार गणेशगन्ज तामाङ टोलमा एकदुई दिन बिराएर चितुवा बस्तीमा छिर्छ । सबैभन्दा पहिले खोरका बाख्रालाई आक्रमण गर्छ। 

‘स्थानीय बासिन्दा आर्थिक अवस्थाले गर्दा खोर बलियो बनाउन सक्दैनन् । छानो पनि खरको हाल्छन् । छानो फालेर समेत बाखा्र लगेको छ’, उनले भने, ‘समितिले जंगलस“ग जोडिएका बस्तीका घरधुरीमा सुरक्षित खोर बनाइदिएको छ । केही परिवार राति ढुक्कस“ग सुत्न पाएका छन् ।’ तामाङबस्ती दक्षिणतर्फको जंगलस“ग जोडिएको छ ।  
परियोजनाले यस क्षेत्रमा अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिस“ग मिलेर काम गरिरहेको छ । ‘सुरक्षित खोर र गोबरग्यासको माग बढी छ । पु¥याउन सकिरहेका छैनौं’, समिति अध्यक्ष मथुराबहादुर भण्डारीले भने, ‘समाधानको तुलनामा समस्या धेरै छन् । थोरै पैसाले धेरै काम गर्न गाह्रो छ ।’ परियोजनाले गोबरग्यासका लागि १० हजार र खोरका लागि ८ हजार रुपैयाँ दिइरहेको छ । यस क्षेत्रमा गत वर्ष २२ वटा खोर बनाइएको थियो । ‘यस वर्ष १८ वटा बनाउँदैछौं’, चापागाईं भन्छन्। 

माडीको अयोध्यापुरीमा जंगली हात्ती, ब“देल र गैंडास“गको द्वन्द्व अन्य स्थानका तुलनामा धेरै छ । ‘वन्यजन्तुले नियमित आक्रमण र बालीनाली नष्ट गर्न थाले पनि कतिपय घरधुरी बसाइँ सराइ गर्न थालेका छन्’, माडी नपा ९ गणेशगन्जकी बिन्दु लम्साल भन्छिन्, ‘रातबिरात छिर्ने हात्तीको त्रासले छोराछोरीमा मानसिक तनाव छ ।’ २०६० सालमा बाघले यही ठा“उमा पा“च जनालाई मारेको थियो।

उनका अनुसार धानखेत, केराबारी, तरकारी कुनै पनि उत्पादन एकमुष्ठ स्याहार्न पाइँदैन । जनावरले खाएर बचेको मात्र घरमा भिœयाउनुपर्ने बाध्यता छ । कुखुरापालन गर्दै आएको लम्साल परिवारले समेत कुखुराको घर पुरै मेस जालीले घेरेर राखेको छ । घरमा गोबरग्यास छ । ‘दुई वर्षअघिसम्म दाउरा ल्याएर बाल्थ्यौं । जंगल पस्न निकै डर थियो । बीचमा ग्यास बालियो, अहिले गोबरग्यास छ’, लम्सालले भनिन् । ग्यास प्लान्ट राखेस“गै पक्की चर्पी बनाएकी छन् । घरमा एउटा भैँसी र पाडो छ । सबैको मलमूत्र प्लान्टमा जोडेकी छन् । समितिले उनलाई प्लान्ट जडानमा सहयोग गरेको हो।

परियोजनाका राष्ट्रिय प्रतिनिधि तिलक चौधरीले आर्थिक स्रोत सीमित भएकाले सबै समस्या सम्बोधन गर्न नसकेको बताए । ‘तर पनि सक्दो प्रयास गरिरहेका छांै’, उनले भने, ‘सबैभन्दा ठूलो चुनौती स्थानीयको आर्थिक स्रोत बढाउने हो ।’ 
चौधरीका अनुसार डार्बिन इनिसेटिबको आर्थिक सहयोगमा लन्डनको चेस्टर जुले ‘लिभिङ विथ लाइगर’ परियोजना सुरु गरेको हो । जुले नेपालको वातावरणीय सुशासन कार्य समूहस“ग मिलेर यो कार्यक्रम गरिरहेको छ । तीन वर्षको यो परियोजनाको कुल बजेट १ करोड ८९ लाख रुपैयाँ छ । यसको ६० प्रतिशत रकम चितवन र बर्दिया निकुञ्जमा खर्च गरिँदैछ । बा“की रकम प्रशासनिक खर्चका लाािग छुट्ट्याइएको छ। 

प्रकाशित: १८ आश्विन २०७४ ०२:३१ बुधबार

जंगलप्रतिको निर्भरता हटाउन गोबरग्यास विकल्प