समाज

‘क्राउड फन्डिङ’ मार्फत लुम्बिनीमा विश्व शान्ति धाम

बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व शान्ति धाम निर्माणमा सहयोग जुटाउन बिहीबार काठमाडौंमा विश्वव्यापी शान्ति महोत्सव आयोजना गरिएको छ।

प्रसिद्ध बौद्ध धर्मगुरु एवं लेखक श्याल्पा तेन्जिङ रिन्पोछेको अगुवाइमा लुम्बिनीमा सात वर्षदेखि शान्ति धाम निर्माण भइरहेको छ। यही शान्ति धामको पूर्णताका लागि सहयोग जुटाउन बिहीबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा महोत्सवको आयोजना गरिएको हो।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा आयोजित महोत्सवमा नेपालका २८० भन्दा बढी व्यापारिक घराना, सरकारका उच्चपदस्थ अधिकारी, बौद्ध धर्मसँग सम्बन्धित व्यक्ति एवं अन्य सरोकारवालाको उपस्थिति थियो।

महोत्सवमा सम्बोधन गर्दै धर्मगुरु रिन्पोछेले बुद्ध जन्मस्थलमा विश्व शान्ति धाम निर्माणका लागि सरकारबाट जमिन प्राप्त भइसकेको बताउँदै त्यसमा भौतिक संरचना निर्माण विश्वभरका शान्तिप्रिय व्यक्तिबाट हातोहात सहयोग जुटाउने काम भइरहेको बताए।

‘विश्वले खोजिरहेको शान्ति नेपालमा पाइन्छ, लुम्बिनीमा छ,’ धर्मगुरु रिन्पोछेले भने, ‘त्यसैले त्यहाँ विश्वभरका मानिसले खोजिरहेको शान्ति पाइने विश्व शान्ति धाम बनाउने कार्यमा पनि विश्वभरका व्यक्तिहरूको हात हुनुपर्छ।’

हरेक व्यक्तिले एक रूपैयाँ, एक डलर, एक पाउन्डका दरले भए पनि सहयोग गर्न सक्ने उनले बताए।

विश्व शान्ति धाम निर्माणले लुम्बिनी क्षेत्रको मात्र नभई नेपालको प्रचार–प्रसार विश्वभर हुने र यहाँको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्‍ याउने धर्मगुरु रिम्पोछेको भनाइ छ। शान्ति धाम निर्माणपछि विश्वभर शान्तिको अभियान पनि नेपालबाटै सञ्चालन हुने धर्मगुरु रिन्पोछेले बताए।

 ‘अहिले युक्रेन, सुडानजस्ता देशमा चलिरहेको हिंसा, बमबारी, युद्ध सर्वथा नाजायज विषय हुन्। त्यसको फेसनेबल विकल्प शान्ति अभियान हो। शान्तिका माध्यमबाट सद्भावको संस्कृति प्रवद्र्धन गर्ने उद्देश्य बोकेर नेपालबाटै अभियान सुरु गरौं’, उनले भने।

महोत्सवमा मुख्य आकर्षणका रूपमा ‘मायादेवी-विना शर्त प्रेम’ शीर्षकको नाटक प्रस्तुत गरिएको थियो, जसमा बालक सिद्धार्थ (बुद्ध) जन्मे आफू मर्छु भन्ने कुरा पहिल्यै जानकारी हुँदाहुँदै माता मायादेवीमा त्यसले प्रभाव नपारेको बरु सन्तान प्राप्त हुन लागेकामा खुसी देखिएको विषय प्रस्तुत गरिएको थियो। यस्तै महोत्सव यसअघि अमेरिकाको बेबर्ली हिल्समा र गत वर्ष होटेल याक एन्ड यतीमा आयोजना गरिएको थियो।

धर्मगुरु रिन्पोछेले थालेको विश्व शान्ति धाम निर्माण महत्वाकांक्षी प्रोजेक्ट हो। ‘पवित्र भूमि लुम्बिनीमा शान्ति धाम निर्माण गरेर विश्वभरिका मानिसलाई नेपाल शान्ति र खुसीको भूमि हो भन्ने सन्देश दिने मेरो उद्देश्य हो’, रिन्पोछेले भने। उनले इस्लामिक धर्मावलम्बीको मक्का मेदिना, इसाईहरूको जेरुसेलम, हिन्दुको वाणारसीजस्तै बौद्ध धर्मालम्बीका लागि लुम्बिनीमा धाम निर्माण गर्न लागेको बताए।

धाम निर्माणमा झन्डै ३० मिलियन डलर लाग्ने अनुमान छ, जसलाई ‘क्राउड फन्डिङ’ मार्फत उठाउने लक्ष्य लिइएको छ। उठेको चन्दा रकमलाई पारदर्शी रूपमा विश्व प्रख्यात लेखापरीक्षकबाट परीक्षण गरेर राखिने जनाइएको छ।

शान्ति धाममा २८० फिट लम्बाइ, ४८ फिट चौडाइ, ३६ फिट उचाइको मेकानिकल, इलेक्ट्रिक, भेन्टिलेसन र प्लम्बिङ (एमइभिपी) भवन बनिसकेको छ।

यस्तै उक्त धाममा संग्रहालय, पुस्तकालय, पाँच हजार मानिस अट्ने क्षमताको सम्मेलन हल, प्रवचन कक्ष, ध्यान कक्ष, युनिभर्सल पिस इन्स्टिच्युट, रिट्रिट सेन्टर आदि रहनेछन्। डिजाइन विश्वमै पृथक् खालको भएको धर्मगुरु रिन्पोचेको दाबी छ। जुन जर्मन आर्किटेक्टबाट डिजाइन भएको उनी बताउँछन्।

सन् २०२४ सम्म धामको निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ। धामको निर्माणपछि नेपालले विश्वलाई शान्तिको सन्देश दिने र विश्वभर रहेका आठ मिलियन मानिसले जीवनकालमा कम्तीमा एकपटक लुम्बिनी भ्रमण गर्ने रिन्पोछेले अपेक्षा राखेका छन्।

‘शान्ति भनेको स्वतन्त्रता हो। विनास्वतन्त्रता शान्ति सम्भव छैन। विश्वभर कहीं नभएको शान्ति र स्वतन्त्रता नेपालमा छ’, धर्मगुरु रिन्पोछेले भने, ‘यो सन्देश विश्वभर फैलाउन सके कम्तीमा विश्वभरका मानिस एकपटक यहाँ आउँछन्।’ 

प्रकाशित: ६ आश्विन २०८० ०५:२८ शनिबार

‘क्राउड फन्डिङ’ मार्फत लुम्बिनीमा विश्व शान्ति धाम