समाज

मुगु सदरमुकाम गमगढीमा आगलागी, ६ घर जलेर नष्ट

मुगु सदरमुकाम गमगढीमा आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छन्। गयराती करिब १२ बजेपछि मुगु सदरमुकाम गमगढी बजारमा आगलागी सुरु भएको थियो। गमगढीस्थित विजय होटल र पुतली मल्लको घरबाट सुरु भएको आगलागीका कारण ६ ओटा घरहरू जलेर नष्ट भएका छन्। 

नेपाल प्रहरी, रेडक्रस र स्थानीय समुदायको सक्रियतामा आगलागी ५ घन्टा पछि नियन्त्रणमा लिइएको छ। घरमा कम्प्युटर तथा ईलेक्ट्रोनिक पसल रहेको हुँदा विद्युतीय तार सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

आगलागीबाट प्रदिप रावल, पुतली मल्ल, र सान्तोना खत्रीको गरी ३ ओटा घर जलेर पुरै नष्ट भएका छन् भने मानवीय क्षती भएको छैन। आगलागी नियन्त्रण गर्न जंग शाहीकोे घर भत्काउनु परेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख (डिएसपी) विरेन्द्र थापाले बताए । क्षतिको यकिन विवरण भने आइनसकेको उनले बताए।

लक्ष्मी मल्लको विजय होटल, नरेश मल्लको कम्प्यूटर पसल, वडा अध्यक्ष पदम मल्लको कपडा पसल सबै जलेर नष्ट भएको उनको भनाइ छ। अगजनी भएको घरसँगै रहेको मोबाईल पसल, टेलर पसल र हेएर कटिङ्ग लगायत अन्य खुद्रा पसलहरूका प्रायः सामानहरू पनि जलेर नष्ट भएका छन्। 

मुगु सदरमुकाम गमगढीमा पछिल्लो समय आगलागीका घटना बढ्न थालेका छन्। हरेक वर्ष झै ठूलाठूला आगलागीका घटनाहरू हुन थालेपछि स्थानीय चिन्तित बनेका छन्। यस बजारमा अधिकाँस काठै काठले बनेका घरहरु भएकाले सामान्य कारणले पनि वर्षैपिच्छे आगलागीका घट्ना हुन थालेको स्थानीय बताउँछन्।  

प्रकाशित: ६ आश्विन २०८० ०१:१५ शनिबार

मुगु गमगढी आगलागी ६ घर जलेर नष्ट नेपाल प्रहरी