समाज

सुधार गृहका ९ जना बाल कैदी बन्दी अझै फरार

बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ असमानपुरस्थित ‘जयेन्दु बाल सुधार गृह’। तस्बिर/नागरिक

बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ असमानपुरस्थित ‘जयेन्दु बाल सुधार गृह’ बाट फरार भएका मध्ये ९ जना बाल कैदी बन्दी अझै सम्पर्कमा आएका छैनन्।बाल सुधार गृहभित्र दुई पक्षबिच बिहीबार राती झडप हुँदा रुपन्देहीका १८ वर्षीय सुलभ केसीको मृत्यु भएको थियो, भने १० जना घाइते भएका थिए।मृतक केसीमाथि अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणीको कसुर थियो।

बाल सुधार गृहमा भएको तनाव साम्य भए पनि फरार रहेका ९ जना शुक्रवार अपराह्नसम्म पनि सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक(डिएसपी) नारायण डाँगीले जानकारी दिए।उनका अनुसार बिहीबार राती १० बजे कैदी बन्दी बिच झडप सुरु भएको थियो । त्यसपछि सुधार गृहमा रहेका २ सय ५४ जना  कैदी बन्दी बाहिर निस्केका थिए। तीमध्ये २ सय ४५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।सम्पर्कमा नआएका ९ जनाको खोजी गर्न प्रहरी टोली विभिन्न ठाउँमा परिचालन भएको जिप्रका बाँकेले जनाएको छ।

बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख(एसपी) सन्तोषसिंह राठौंर सहितको टोली शुक्रवार दिनभर वार्ताका लागि बाल सुधार गृहमै रहेको छ। असन्तुष्ट बाल कैदीबन्दीसँग अहिले छलफल चलिरहेको डिएसपी डाँगीले बताए।‘बाल सुधार गृहमा असहज अवस्था सिर्जना भएपछि त्यहाँ रहेका बाल कैदी बन्दी बाहिर निस्केका हुन्, पछि सम्पर्कमा आए, तर अझै ९ जना भने सम्पर्कमा आएका छैनन,’ डाँगीले नागरिकसँग भने ‘उनीहरु पनि आफै सम्पर्कमा आउने विश्वास छ।’बाल सुधार गृहमा भएको तनाव साम्य भइसकेको उनले जानकारी दिए ।

झडपमा उत्रिएका सुधार गृहका बालकहरूले राती भवन तथा पर्खाल तोडफोड गर्नुका साथै झ्यालका सिसा फुटाएका थि ।यस्तै उनीहरुले ड्युटीमा खटिएका प्रहरीमाथि पनि ढुङ्गा तथा इँटा प्रहार गरेका थिए।बाल सुधार गृहमा यसअघि पनि पटक–पटक विवाद हुने गरेको थियो।उक्त सुधार गृह नेपालगन्ज बजार क्षेत्रदेखि करिब ३ किलोमिटर पूर्वमा अवस्थित छ। 

प्रकाशित: ५ आश्विन २०८० १०:२४ शुक्रबार

‘जयेन्दु बाल सुधार गृह’ सुधार गृहका ९ जना बाल कैदी बन्दी अझै फरार बाँकेको डुडुवा गाउँपालिका