समाज

जयेन्दु बाल सुधार गृहको तनाव साम्य, प्रजिअसहितको टोली घटनास्थलमा

बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ असमानपुरस्थित ‘जयेन्दु बाल सुधार गृह’ । तस्बिर: नागरिक

बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ असमानपुरस्थित ‘जयेन्दु बाल सुधार गृह’ मा भएको तनाव अहिले साम्य भएको छ। बाल सुधार गृहभित्र दुई पक्षबीच बिहीवार राति झडप हुँदा कपिलवस्तुका १८ वर्षीय सुलभ केसीको मृत्यु भएको थियो भने अन्य १० जना घाइते भएका थिए।

बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बाल सुधार गृहमा भएको तनाव अहिले साम्य भएको बताए। ‘बाल सुधार गृह अहिले शान्त भईसकेको छ,’ उनले नागरिकसँग भने, ‘उनीहरूको माग सम्बोधनका लागि बार्ता गर्ने प्रयास भइरहेको छ।’

उनीहरूले उठाएको माग अहिलेसम्म स्पष्ट नभएको प्रजिअ आचार्यले बताए। ‘उनीहरूको माग के हो ? अहिलेसम्म बाहिर आएको छैन, हामीले उनीहरूको समस्या बुझ्ने खोज्दैछौं,’ आचार्यले थपे। बाँकेका प्रहरी प्रमुख (एसपी) सन्तोषसिंह राठौंरले बाल सुधार गृहमा रहेका आन्दोलनरत पक्षसँग वार्ता गर्ने तयारी भइरहको सुनाए। ‘अहिले बाल सुधार गृह शान्त भईसकेको छ, उनीहरुको माग के हो ? सोधपुछ गरेर बार्ता गर्ने तयारी भइरहेको छ,’ एसपी राठौंरले भने ।  

झडपमा उत्रिएका सुधार गृहका बालकहरूले राति भवनमा तोडफोड गर्नुका साथै झ्यालका सिसा फुटाएका थिए। यस्तै ड्युटीमा खटिएका प्रहरीमाथि पनि ढुङगा र इँटा प्रहार गरेका थिए। बाल सुधार गृहमा यसअघि पनि पटक पटक विवाद हुने गरेको थियो। उक्त सुधार गृह नेपालगन्ज बजार क्षेत्रदेखि करिब ३ किलोमिटर पुर्वमा अवस्थित छ।  

प्रकाशित: ५ आश्विन २०८० ०७:०१ शुक्रबार

डुडुवा गाउँपालिका जयेन्दु बाल सुधार गृह बाँके