समाज

तालको हालमा राजमार्गका पुल

राजमार्गको दैलेख सडकखण्डका पुलमा जमेको पानी। तस्बिर: गोविन्द/नागरिक

पुष्पलाल (मध्यपहाडी) राजमार्गमा बनाइएका पक्की पुल वर्षामा तालको हालमा देखिन्छन्। पुलको साइटबाट बनाइएका नालीमा पानी नबग्ने भएपछि ताल बनेका हुन्।

सडकको पानी प्रायः पुलहरूबाटै बग्ने भएपछि पुल गाडीबाहेक स्थानीय हिँड्न नमिल्ने गरी पानीले भरिने गरेका छन्। जसकारण पुल आवागमनमा स्थानीयलाई सकस परेको छ। पुराना तथा नयाँ बनाइएका पुलमा सडकबाट भलपानी पसेपछि पुलमा ताल परेको हो।

यतिखेर राजमार्गका सडक कालोपत्रे भई चिल्ला देखिए पनि पुल भने हिलाम्मे देखिएका छन्। हिलाम्मे हुँदा ती पुल छिट्टै जीर्ण हुने स्थानीय बताउँछन्। बनेका पुल अधिकांश सडकदेखि निकै होचो रहेकाले पनि समस्या थपेको बुझिएको छ। वर्षामा पुलहरू पानी पोखरीमा परिणत हुँदा आफूहरूलाई पुल हिँड्नै कठिन हुने स्थानीय धर्म खड्काले बताए।

दैलेख, अछाम र रुकुम पश्चिम र पूर्वका जिल्लामा प्रायः कालोपत्रे भइसकेको राजमार्ग वर्षामा पानीको भेलले भत्कने गरेको छ। कतै पानी सडकमै बग्ने गरेको छ। कतै पानी पुलमा भरिने गरेको छ। राजमार्गमा हुने यस्ता चुनौतीहरूको समाधानका लागि योजना कार्यालय चनाखो भएर लाग्नुपर्ने देखिन्छ।

समयमै योजना कार्यालयले हिलो सोर्ने कार्य गर्नुपर्ने स्थानीयको भनाइ छ। योजना कार्यालयबाट वर्षेनी पुलहरू मर्मतसम्भारका कार्यक्रम भए पनि प्रभावकारी हुन नसक्दा वर्षामा समस्या आउने गरेको छ।

पुलमा पानी पसेको जानकारी आएको र त्यसलाई आगामी दिनमा नआउने गरी योजना बनाइने पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय दैलेखले जनाएको छ।

प्रकाशित: ५ आश्विन २०८० ०३:४३ शुक्रबार

पुष्पलाल (मध्यपहाडी) राजमार्ग तालको हालमा राजमार्गका पुल