समाज

पर्यटकीय क्षेत्र जगतपुरमा २३ दिनसम्म लगातर सरसफाई अभियान

चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालयसंग रहेको भरतपुर महानगरपालिका वडा नम्बर २३ले बृहत सरसफाई तथा स्वास्थ्य सचेतना कार्यक्रम गर्ने भएको छ। पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउने उद्देश्यका साथ २३ दिनसम्म लगातार सरसफाई तथा स्वास्थ्य सचेतना कार्यक्रम गर्न लागिएको हो।

मिसन २३ घुमौँ भरतपुर सन् २०२४ अन्तरगत भरतपुर वडा नम्बर २३ले सरसफाई अभियान थालेको हो। यस वडालाई पूर्ण सरसफाई युक्त बनाउने गरि अभियान थालिएको वडा अध्यक्ष दिपक दवाडीले जानकारी दिए। ‘अहिले विशेष अभियान अन्तरगत २३ दिन भनेका छौँ,’वडा ‘अध्यक्ष दवाडीले भने यो अभियान निरन्तर रुपमा आगडि बढ्छ।’ अभियान असोज ६ गतेदेखि सञ्चालन हुनेछ। प्रत्येक दिन बिहान ७ बजेदेखि १० बजेसम्म सरसफाई अभियान सञ्चालन हुने उनले जानकारी दिए।

फोहोरको वर्गिकरण गरी प्रत्येक टोलमा फोहोर व्यवस्थापन सम्बन्धी सचेतना जगाउने उनले बताए। ‘अहिले प्लाष्टिक, रासायनिक पदार्थको बढी प्रयोगका कारण धेरै समस्या छ,’ उनले भने‘ प्लाष्टिक र कुहिने फोहोर छुट्टाउन लगाउँछौँ। वडा भित्रै फोहोरको व्यवस्थापन गर्छौँ।’ ग्रामिण क्षेत्र भएकाले प्लाष्टिक बाहेक अन्य फोहोर व्यवस्थापन गर्न कठिन नहुने उनको तर्क छ।

भरतपुर महानगरपालिकाले पनि एक वडा एक ल्याण्डफिल्ड साइडको अवधारणा ल्याएको छ। त्यसलाई सहयोग पुग्ने गरी काम गर्ने उनले बताए। उनले घर वरपर रासायनिक विषादीको प्रयोग गर्न प्रतिबन्ध लगाइने बताए। फोहोर व्यवस्थापनका लागि जरिवाना र पुरस्कारको व्यवस्थाको निती ल्याएको उनको भनाई छ।

यस अभियानलाई राप्ती नदी तटिय क्षेत्र सरसफाई अभियानले पनि सहकार्य गरेको छ। फोहोरको दिगो व्यवस्थापनका लागि अभियान सञ्चालन गरिएको राप्ती नदी तटिय क्षेत्र सरसफाई अभियानका अध्यक्ष अपिल घिमिरेले जानकारी दिए। ‘निकुञ्जसंग जोडिएको वडा भएकाले फालिएका प्लाष्टिक तथा सिसाबाट वन्यजन्तु प्रभावित भएका छन्। फालिएको सिसाले गैँडाको बच्चाको खुट्टा काटेको छ। खोलामा बगाएर आएको तियारी जालमा परेर घडियाल गोही परेका छन्। वन्यजन्तुका दिसामा प्लाष्टिक भेटिएका छन्,’ घिमिरेले भने, ‘यहाँको फाहोरले वन्यजन्तुलाई प्रत्यक्ष असर परेको छ।’ उनले वन्यजन्तु संरक्षणका लागि फोहोर व्यवस्थापन महत्वपूर्ण रहेको बताए। घिमिरेको नेतृत्वमा विगत ६ बर्षदेखि प्रत्येक साता राप्ती सरसफाई अभियान सञ्चालनमा छ। तर, बाढीले बगाएर ल्याउने फोहोरका कारण सरसफाईमा चुनौती रहेको उनले बताए।

२३ दिनसम्म सञ्चालन हुने अभियानमा २१ वटा टोल विकाससंस्था, सामुदायिक वन तथा विद्यालय, रेडक्रस, चितवन राष्ट्रिय निकुञ्ज लगायतका संघ संस्थासंग समन्वय गरिएको छ।

प्रकाशित: ४ आश्विन २०८० १३:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App