समाज

सेफ्टीट्याङ्कभित्र निस्सासिएर तीन जनाको मृत्यु

रौतहट— सेफ्टीट्याङ्कीभित्रको सेन्ट्रिङ निकाल्ने क्रममा रौतहटमा तीन जनाको मृत्यु भएको छ। रौतहटको यमुनामाइ गाउँपालिका वडा नं.१ सुकदेव चोक नजिकै वकिल बैठाले नयाँ घरका लागि एक महिना अघि सेफ्टीट्याङ्की बनाउन थालेका थिए।

ढलान गरिएको सेफ्टीट्याङ्कीबाट काठका सेन्ट्रिङ निकाल्ने क्रममा बुधबार बिहान करिब १० बजे सेफ्टीट्याङ्कीभित्र प्रवेश गरेका घरबेटी मुन्ना बैठा एवं कामदारहरु विजय बैठा र नागेश्वर माझीको मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्याङ्कीभित्रको काठ निकाल्न भित्र प्रवेश गरेका उनीहरु अक्सिजन अभावमा छटपटाउन थालेपछि परिवारजनले प्रहरीमा खबर गरेका थिए। सुकदेव चोकस्थित प्रहरी चौकीबाट प्रहरी आइपुग्दा उनीहरुको मृत्यु भइसकेको थियो।

मृतकको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा ल्याइएको छ। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ११ आश्विन २०७४ ०८:२८ बुधबार

सेफ्टीट्याङ्कभित्र निस्सासिएर जनाको मृत्यु