काठमाडौं–नर्भिक अस्पतालमा उपचारका क्रममा १६ महिने छोरीको मृत्यु भएको विषयमा प्रहरीले जाहेरी दर्ता गर्न नमानेको भन्दै पीडित परिवारले आपत्ति जनाएका छन्। काठमाडौं मैतीदेवीका रमेश आचार्यकी १६ महिने छोरी भिक्टोरियाको उपचारका क्रममा नर्भिक अस्पताल थापाथलीमा मृत्यु भएको थियो। छोरीको मृत्यु हुनुमा चिकित्सकको लापरबाही प्रमुख कारक रहेको दाबी आचार्य परिवारको छ। चिकित्सकले भने आचार्यको दाबीलाई अस्वीकार गरेका छन्।
‘दोषीमाथि कारबाहीको माग गर्दै पेस गरिएको जाहेरी प्रहरीले दर्ता गरेन,’ मृतक बालिकाका पिता रमेश आचार्यले भने । सामान्य अवस्थामै अस्पताल पुर्याएको छोरीको मृत्यु चिकित्सकको गलत उपचारका कारण भएको दाबी परिवार पक्षको छ । ‘छानबिन निष्पक्ष हुन सकेन, न्याय नपाए अन्तर्राष्ट्रिय अदालत पुग्छु,’ रमेशले भने ।
आचार्यले स्वास्थ्य मन्त्रालयद्वारा गठित छानबिन समितिले उचित प्रतिवेदन दिन नसकेको, छानबिन समिति थपघट गरी धाँधली गरेको र पोस्टमार्टमले सबै विवरण खुल्न नसकेको भन्दै कानुनी कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकुमा तीन चिकित्सकविरुद्ध किटानी जाहेरी दिएका थिए । ‘प्रहरीले हामी खबर गर्छौं भन्दै पठाए, त्यसपछि बोलाएनन्,’ रमेशले भने । उजुरी दिएपछि पटकपटक प्रहरीलाई सम्पर्क गर्दा पनि दर्ता गर्न नमानेको आचार्यको गुनासो छ । उनले गृह र स्वास्थ्य मन्त्रालयमा पनि उजुरी दर्ता गरेका छन्।
स्वास्थ्य मन्त्रालयको छानबिन समितिले गठन गरेको समितिमा दुई सदस्य चिकित्सक हटाई नयाँ राखेको, नयाँ समितिका कारण निष्पक्ष छानबिन हुन नसकेपछि आफू कानुनी कारबाहीका लागि अघि बढेको रमेशले बताए।
अस्पतालको आकस्मिक कक्षका जनरल चिकित्सक सुनिला शाक्य, बालरोग विशेषज्ञ डा. विनिता जोशी, बालरोग विशेषज्ञ रितु लामिछाने र एक घन्टापछि एनेसथेसिस्ट सुरेश लामिछानेले भिक्टोरियाको उपचार गरेका थिए।
लिकाको मृत्युका सम्बन्धमा गत भदौ १३ मा जिल्ला प्रशासन कार्यालय काठमाडौंले ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो । त्यसलगत्तै स्वास्थ्य मन्त्रालय चिकित्सा महाशाखाका प्रमुख विनोदमान श्रेष्ठको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो । समितिमा नेपाल चिकित्सक संघका उपाध्यक्ष डा. ढुण्डीराज पौडेल, जिल्ला प्रशासन कार्यालय काठमाडौंका अधिकृत पारसमणि पोखरेल, महानगरीय प्रहरी प्रभाग टेकुका डिएसपी बेलबहादुर पाण्डे, डा. प्रकाशज्योति पोखरेल (सिभिल अस्पताल), डा. उज्ज्वल बस्नेत (विज्ञ चिकित्सक प्रसूतिगृह), घनश्याम पौडेल (अधिकृत, स्वास्थ्य मन्त्रालय) सदस्य थिए ।
प्रसूतिगृहका डा. उज्ज्वल बस्नेत र सिभिलका डा. प्रकाशज्योति पोखरेलले समितिमा बस्न नमानेपछि हटाइएको थियो । उनीहरूको ठाउँमा नेपाल पिडियाट्रिक सोसाइटीका सदस्य चिकित्सक डा. राजाराम चापागाईं र पूर्वअध्यक्ष लक्ष्मण श्रेष्ठलाई लगिएको थियो । थपिएका दुई सदस्य मृतक बालिकाको उपचारमा संलग्न चिकित्सक विनिता जोशी संलग्न संस्थामा आबद्ध छन् । एउटै संस्थाका भएकाले छानबिन निष्पक्ष नहुने शंका आचार्यको छ ।
आचार्यका अनुसार बालिका भिक्टोरियालाई पाँच दिनदेखि रुघाखोकी लागेको थियो। अस्पताल लैजानुअघि उनले सामान्य खाना खाएकी थिइन्। अस्पताल पुग्दा भिक्टोरियालाई १ सय १ डिग्री ज्वरो आएको थियो।
अघिल्लो दिन सिसियु क्लिनिक दरबामार्गका बालरोग विशेषज्ञ डा. नारायण ध्वजुले भिक्टोरियाको स्वास्थ्य परीक्षण गरेका थिए। उनले सामान्य भाइरल भनेपछि आचार्य परिवार घर फर्किएको थियो। १३ गते बिहान ज्वरो आएपछि आचार्यले डा. ध्वजुलाई नै सम्पर्क गरे। उनीसँग सम्पर्क नभएपछि छोरीलाई लिएर आचार्य दम्पती नर्भिक पुगेका थिए।
अस्पतालको आकस्मिक कक्षका जनरल चिकित्सक सुनिला शाक्य, बालरोग विशेषज्ञ डा. विनिता जोशी, बालरोग विशेषज्ञ रितु लामिछाने र एक घन्टापछि एनेसथेसिस्ट सुरेश लामिछानेले भिक्टोरियाको उपचार गरेका थिए।
आचार्यले भने, ‘बालिकालाई सुरुमा नेबुलाइजेसन र स्लाइन दिइयो । क्रमशः मेडाजोलन (अपे्रसन गर्नुअघि दिइने औषधि अर्थात् मसल रिलाक्सेसनका लागि प्रयोग हुने), सेब्ट्रयाक्जोन ६ सय एमजी (एन्टिबायोटिक) र भेन्कोमाइसिन (ब्याक्टेरिया मार्ने एक प्रकारको औषधि) दिइयो।’ भेन्कोमाइसिनलाई पोस्टमार्टम रिपोर्टमा संवेदनशील भनिएको छ ।
रामीलाई रेफर गर्नुअघि स्टेबल (स्थिर अवस्था) बनाएर पठाउनुपर्ने भएकाले भिक्टोरियालाई इटिट्युब प्रयोग गरेको उपचारमा संलग्न बालरोग विशेषज्ञ डा. विनिता जोशीले बताइन् । ‘स्टेबल नगरी अर्को अस्पताल पठाउनै मिल्दैन’ उनले भनिन् । इटिट्युब प्रयोग गर्दा बालिकाको नाकबाट रगत आएको थियो । फोक्सोमा निमोनिया फैलिएर सेफ्टिसेमिया (संक्रमणको चरम रूप) भएकाले रगत निस्केको चिकित्सकहरूले बताए ।
एन्टिबायोटिक १६ महिनाको बच्चाका लागि बढी डोजको र अन्य दुई औषधि संवेदनशील र लठ्याउने खालको भएको दाबी आचार्यले गरेका छन् । यी औषधिको प्रयोग गर्दा छोरीको अवस्था गम्भीर हुँदै गएपछि चिकित्सकले अन्यत्र लैजान रेफर गरेका थिए । आचार्य पिआइसिसियुका लागि अन्तर्राष्ट्रिय बालमैत्री अस्पताल लैजान खोज्दै थिए । चिकित्सकले स्टेबल (स्थिर बनाएर) लैजाने भन्दै इटिट्युब (श्वासप्रश्वासका लागि सहज पार्ने उपकरण) प्रयोग गर्न थाले । त्यो उपकरण प्रयोग गर्दा आफू बाहिरपट्टि रहेको आचार्यले बताए । उनले भने, ‘छोरी चिच्याएको आवाज आयो । त्यतिबेलै चिकित्सकमध्ये एकले ‘एटिट्युब ठूलो परेछ’ भनेको आवाज सुनें ।’ आफू भित्र पस्न खोज्दा प्रवेश नदिइएको आचार्यले बताए । केही बेरपछि छोरीको आवाज आउन छाडेको र छोरीलाई मृतक घोषणा गरिएको आचार्यले बताए । आचार्यले बढी डोजको औषधि र ठूलो एटिट्युब प्रयोग भएकै कारण छोरीको मृत्यु भएको दाबी गरेका छन् ।
दुई वर्षभन्दा कम उमेरकालाई पिडियाट्रिक पल्मोनोलोजिस्ट र कार्डोलोजिस्टको रोहबरमा मात्र इटिट्युब राख्ने गरिन्छ । तर उपचारका क्रममा त्यस्ता विशेषज्ञ नभएको दाबी आचार्यको छ ।
छोरीको मृत्युपछि आएको रगतको नमुना अन्य अस्पतालमा जँचाउन पठाउन खोज्दा पनि अस्पतालले नदिएको उनको आरोप छ । ‘निमोनिया भएकै भए पनि मृत्यु हुन समय लाग्छ । मेरी छोरीको मृत्यु अस्पताल पुगेको दुई घन्टा नबित्दै भएको छ,’ उनले भने । चिकित्सकले सुरुमा पिआइसियु यही अस्पतालमा छ भनेर झुक्याएको उनको आरोप छ ।
अस्पताल प्रशासन र चिकित्सकहरूले भने छोरीको मृत्युको शोकमा परेर आचार्यले विभिन्न आरोप लगाएको दाबी गरेका छन् । चिकित्सकका अनुसार भिक्टोरियालाई आकस्मिक कक्षमा ल्याउँदा उनको अक्सिजन घटेको थियो भने सास छिटोछिटो फेरिरहेकी थिइन् । आचार्यको भनाइमा कुनै सत्यता नभएको दाबी चिकित्सकहरूको छ । इटिट्युब बच्चाको उमेरअनुसारकै प्रयोग भएको, अर्को इटिट्युब नफेरेको, इटिट्युब प्रक्रियाअघि आचार्यलाई सहमति हस्ताक्षर गराएको, बिरामी गम्भीर अवस्थामा रहेकाले उपचार प्रक्रियाअनुसार मेडाजोलन चलाएको उनीहरूको भनाइ छ ।
बिरामीलाई रेफर गर्नुअघि स्टेबल (स्थिर अवस्था) बनाएर पठाउनुपर्ने भएकाले भिक्टोरियालाई इटिट्युब प्रयोग गरेको उपचारमा संलग्न बालरोग विशेषज्ञ डा. विनिता जोशीले बताइन् । ‘स्टेबल नगरी अर्को अस्पताल पठाउनै मिल्दैन’ उनले भनिन् । इटिट्युब प्रयोग गर्दा बालिकाको नाकबाट रगत आएको थियो । फोक्सोमा निमोनिया फैलिएर सेफ्टिसेमिया (संक्रमणको चरम रूप) भएकाले रगत निस्केको चिकित्सकहरूले बताए ।
अस्पतालका निर्देशक राजेन्द्रबहादुर सिंहले सबै कुराको छिनोफानो छानबिन समिति र पोस्टमार्टम रिपोर्टले गरिसकेको बताए । ‘छानबिन समितिको प्रतिवेदनले सबै कुरा सम्बोधन गरेको छ । हामी त्यहीअनुसार अघि बढ्छौं,’ उनले भने । आचार्यले छानबिन हुनुअघि नै अस्पतालमा तोडफोड गरेकाले उनीविरुद्ध अस्पतालले जिल्ला प्रशासन र प्रहरी कार्यालयमा उजुरी दिएको बताए । ‘अब उहाँले अस्पताललाई क्षतिपूर्ति दिनुपर्छ,’ निर्देशक सिंहले भने ।
महानगरीय प्रहरी परिसर टेकुले आचार्यले तीनजना चिकित्सकविरुद्ध दिएको किटानी जाहेरी छानबिन समितिले चिकित्सक पक्षको कुनै गल्ती नभएको र बालिकाको मृत्यु कडा निमोनियाका कारण भएको रिपोर्ट पेस गरेकाले जाहेरी दर्ता नगरेको जनाएको छ । परिसरका मुद्दा शाखाका डिएसपी तथा छानबिन समिति सदस्य बेलबहादुर पाण्डेले भने, ‘प्रक्रिया अघि बढेको छैन । माथिबाट दर्ता नगर्ने प्रतिवेदन आयो । प्रतिवदेन समितिको सदस्य म आफैं थिएँ । प्रतिवेदन धेरै स्पष्ट छ,’ उनले भने ।
घटना छानबिन समितिका संयोजक डा. विनोदमानसिंह श्रेष्ठले पनि बालिकाको मृत्यु निमोनियामा हुने किटाणु ‘स्ट्रोपटोकोकस पायोजिनस’ का कारण भएको बताए । उनले पोस्टमार्टम रिपोर्टमा इटिट्युब प्रयोगका कारण बालिकालाई कुनै चोट नलागेको बताए । उनले भने, ‘विज्ञहरूको अध्ययनले बालिकाको मृत्यु निमोनियाका कारण भएको देखाएको छ ।’
पिता आचार्य भने यी जबाफ स्वीकार्न तयार छैनन् । आफूले छोरीलाई सामान्य अवस्थामै अस्पताल पु¥याएकाले अस्पतालकै गलत उपचारका कारण मृत्यु भएको दाबी गरे । ‘अमेरिकामा नियमित रुपमा निमोनियासहित सबै रोगको भ्याक्सिन दिएका थियौं । निमोनियाले ग्रस्त हुन्जेल घरमा राखेका छैनौं,’ उनले भने, ‘म आफैं फिजिसियन हुँ तर बालरोगको हैन ।’
प्रकाशित: ११ आश्विन २०७४ ०६:५१ बुधबार