समाज

'दशैँमा आउँछु भन्थ्यो आएन'

मलेखु (धादिङ)—नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष भयो। विदेशबाट धन कमाएर ल्याई परिवारलाई सुख दिन्छु भनेर विदेश गएका लम्सालको छोरो कृष्णप्रसाद १२ वर्षदेखि मलेसियामा बेपत्ता छन्।

सिद्धलेक गाउँपालिका–६ की देवकी पण्डितका छोरा दामोदर विदेश गएको लामो समय भयो कहाँ भन्ने अत्तोपत्तो नभएपछि यस वर्षको दशैँ पनि अरु वर्षमा जस्तै बाटो हेरेर बित्ने भएको छ। 'छोरा घर आउला र छिमेकीको घरमा जस्तै रमाइलो गरुँला' भन्ने उनको आशा निराशामा परिणत भएको छ।

सदरमुकाम रहेको नीलकण्ठ नगरपालिका–२ की अस्मिता पौडेल 'घर आउँछु' भन्ने छोराको यादमै बित्ने पक्का भएको छ। चार वर्षअघि कुवेत गएका उनका छोरा सम्पर्कमा छैनन्। दशैँमा आउँछु भनेर फोन गरे पनि केही वर्षदेखि उनी कता हराए भन्ने कसैलाई थाहा छैन। साथीभाइले पनि पत्ता लगाउन सकेका छैनन्।

आर्थिक अवस्था सुधार गर्नका लागि विदेशिएका व्यक्ति धमाधम बेपत्ता हुनु र चाडबाडमा समेत सम्पर्कमा नआउँदा घरमा रहेका परिवार आत्तिने गरेको मनोसामाजिक परामर्शकर्ता रामकुमार थापाले बताए।

वैदेशिक रोजगारीमा सुरक्षित तरिकाले जाने लगायतको सूचना तथा परामर्श उपलब्ध गराउँदै आएको सिर्ड्स धादिङले विदेश जाँदा अपनाउनुपर्ने विषय र अन्य सुरक्षित वैदेशिक रोजगारसम्बन्धी विविध विषयमा जानकारी उपलब्ध गराउँदै आए पनि विदेश गएर बेपत्ता भएकाको संख्या कम छैन। सिड्र्स धादिङका कार्यक्रम संयोजक गंगा सुवेदीले विदेश गएर बेपत्ता भएकाको खोजी गरिदिनका लागि निवेदन दिनेको संख्या धादिङ जिल्लामा ४५ जना रहेको जानकारी दिए।

धादिङबाट विदेश गएकामध्ये मलेसियामा २५, कतारमा तीन, साउदी अरब र युएइमा चार चार, भारत र कुवेतमा तीन तीन, जर्जियामा दुई र इराकमा एक जना बेपत्ता भएको सूचना तथा परामर्श केन्द्र धादिङले जनाएको छ। जिल्लाको उत्तरी भागबाट बढी मानिस विदेशमा बेपत्ता छन् । झार्लाङ, तिप्लिङ, सेर्तुङ, रि, कुम्पुर, त्रिपुरेश्वर, बसेरी, जोगीमारा, थाँक्रे, नलाङ, धुवाँकोट, तसर्पु, सल्यानटारलगायत क्षेत्रबाट धेरै मानिस हराएको सूचना प्राप्त भएको छ।

बेपत्ता हुनेको हकमा खोजी गर्नका लागि सरकारबाट कुनै पनि निश्चित संयन्त्र नहुँदा विदेशमा बेपत्ता भएकालाई खोजी गर्न अप्ठ्यारो परिरहेको छ। यद्यपि सूचना तथा परामर्श केन्द्रले विभिन्न छापा र अनलाइनमार्फत सूचना सार्वजनिक गरेर खोजी गरिरहेको छ। यही कारण यस वर्ष ४५ बेपत्तामध्ये १४ जना सम्पर्कमा आएको सुवेदीले जानकारी दिए।

प्रकाशित: १० आश्विन २०७४ ०८:०१ मंगलबार

दशैँमा आउँछु भन्थ्यो आएन