समाज

नियन्त्रणमा आउँदै लम्पी स्किन

१४ हजार २ सय ९२ गाई गोरु र ९८ भैँसी मरे

फाइल तस्बिर

लम्पी स्किन रोगका कारण पशु चौपायामा महामारीको रुप लिएको सुदूरपश्चिममा विस्तारै नियन्त्रणमा आउन थालेको छ। सुदूरपश्चिम प्रदेशमा लम्पी स्किनले अहिलेसम्म ठूलो पशु धनको क्षति भएको छ। पशुधन क्षति हुन थालेपछि पशु चिकित्सकहरु किसानको गोठमै गएर पशुलाई उपचार गर्न थालेपछि महामारीको रुपमा फैलिएको लम्पी स्किन रोग विस्तारै नियन्त्रणमा आउन थालेको हो।

गाउँभरिमा गाई भैँसीमा लम्पी स्किन रोग नलागेको गोठै नभएको बताउँदै किसानहरु रोगका कारण ठूलो क्षति व्यहोर्नु परेको गुनासो पोख्छन्। यस्तै रोगका कारण गाईगोरु तथा भैँसी मरे पनि रोग लागेर सञ्चो भएको गाईगोरु तथा भैँसी पनि दुब्लाउन थालेका छन्। अहिलेसम्म सुदूरपश्चिम प्रदेशमा लम्पी स्किन रोगका कारण १४ हजार २ सय ९२ गाई गोरु र ९८ वटा भैँसी मरेका छन्।

सबैभन्दा बढी ३ हजार ४ सय ३५ गाई गोरु बैतडीमा मरेका छन् भने कैलालीमा १८ वटा भैँसी मरेको तथ्याङ्क छ। यस्तै ३ लाख ३६ हजार २ सय ७८ गाई गोरु र १० हजार ५ सय ३० भैँसी संक्रमित बनेका छन्। सबैभन्दा बढी बैतडीमा ७० हजार ७ सय ६०, बझाङमा ६५ हजार २ सय २४, दार्चुलामा ४२ हजार ७ सय ५७, अछाममा ३७ हजार ७ सय ४४, डोटीमा ३६ हजार ८ सय ८१, बाजुरा ३३ हजार ६ सय १०, डडेल्धुरा २६ हजार ५ सय ९२, कैलाली २० हजार ३ सय ४५ र कञ्चनपुर २ हजार ३ सय ६२ गाई गोरु संक्रिमित भएको पशुपन्छी तथा मत्य विकास निर्देशनालय दिपायल डोटीका सूचना अधिकारी पुष्करराज नाथले बताए।

यस्तै लम्पी स्किनका कारण कैलालीमा २५७, कञ्चनपुरमा ११९, डडेल्धुरामा १५३०, बैतडीमा ३४३५, दार्चुलामा १५१४, डोटीमा २०६३, अछाममा २२७४, बझाङमा २४२० र बाजुरामा ६८० गाई गोरु मरेका छन्। पशुचौपायामा महामारीको प्रकोप बढेपछि अहिलेसम्म ७ हजार १ सय १७ पशुमा खोप लगाइएको छ भने बिरामी पशुको उपचार गरिँदै आएको सूचना अधिकारी नाथले बताए। उनले भने,‘बिरामी पशुको घाउमा मलम लगाउने तथा उसलाई स्याहार सुसारमा ध्यान दिने गरिएको छ।’

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डाक्टर हेमराज अवस्थीले आफूहरुले ठाउँठाउँमा पशु चिकित्सक खटाएर भ्याक्सिन लगाउने कार्य गरिरहेको बताए। उनले भने,‘कैलालीमा लम्पी स्किन रोगको महामारी फैलिएको र विस्तारै नियन्त्रणमा आउन थालेको छ।’

लम्पी स्किन रोगबाट पशुलाई बचाउन स्थानीयले आफ्नै बलबुताले प्रयास गरे पनि पछिल्लो समयमा भने स्थानीय तहका साथै पशु चिकित्सकले पनि गाउँगाउँमा गएर सेवा दिएको उनले बताए। लम्पी स्किन रोगका कारण सुदूरपश्चिमका किसानलाई ठूलो मात्रामा धनको क्षति हुनुका साथै दूध उत्पादनमा पनि कमी आएको छ। बजारमा दूधको माग बढे पनि लम्पी स्किन रोगका कारण पशु चौपाया मर्नुका साथै रोगले थलिएपछि दूध उत्पादनमा पनि कमी आएको किसानहरु बताउँछन्। 

प्रकाशित: ३ आश्विन २०८० ११:३४ बुधबार

लम्पी स्किन