समाज

शिक्षक आन्दोलनले अघि सारेका माग सम्बोधन गरिनुपर्छ: महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शिक्षक आन्दोलनले अघि सारेका न्यायोचित माग सम्बोधन हुनुपर्ने बताएका छन्।

शर्माले शिक्षक आन्दोलनले अघि सारेका न्यायोचित माग सम्बोधन हुनुपर्ने र संघीय शिक्षा ऐनमार्फत वर्षौंदेखि अल्झिएका समस्याको हल खोज्नैपर्ने बताएका हुन्।

उनले सरकारलाई शिक्षकहरूको आवाज सुन्न पनि आग्रह गरेका छन्।

उनले भनेका छन्,'हामी लोकतान्त्रिक राज्यप्रणालीमा छौं, एक व्यक्ति मात्रको आवाज पनि सुन्ने कर्तव्य राज्यको हुन्छ भने लोकतान्त्रिक राज्यले लाखौं शिक्षकको आवाज सुन्न र भावना बुझ्न ढिलाइ गर्नुहुन्न।'

शिक्षकको आत्मसम्मान अभिवृद्धि गर्नेरगराउने कर्तव्य राज्यको भएको उनले बताए।

‘प्रत्येक विद्यार्थीको शैक्षिक भविष्यमा नकारात्मक असर पर्न नदिने अभिभावकत्व शिक्षकको प्रधान दायित्व हो। संवादमार्फत तत्काल समाधान खोजेर विद्यालय अविलम्ब सुचारू गर्न गराउन सरकार र शिक्षक नेतृत्वलाई अपिल गर्दछु,’ उनले भनेका छन्।

नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षकहरू बुधबारदेखि विद्यालय बन्द गरेर काठमाडौंमा आन्दोलन गरेका छन्।  

प्रकाशित: ३ आश्विन २०८० ०८:४० बुधबार

विश्वप्रकाश शर्मा