समाज

रुकुममा दुईजनालाई स्क्रब टाइफस

रुकुम –जिल्लामा स्क्रब टाइपसका संक्रमित विरामी देखिएका छन् । राप्ती समाज अस्पतालमा आएका विरामीहरू मध्ये दुई जनामा  स्क्रप टाइफस देखिएको हो ।

राप्ती समाज अस्पतालका निर्देशक डा. मानवहादुर खत्रीका अनुसार यो रोग अरुमा पनि हुन सक्छ । तर चेक नगराउँदा यतिमा मात्र देखिएको हो । अन्य अस्पतालबाट विरामी भइ यहाँ आएकालाई चेक गर्दा उक्त रोग पत्ता लागेको उनले जानकारी दिए । यो रोग लागेमा अत्याधिक ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउने र शरीर पनि दुख्ने चिकित्सको भनाई छ । यो रोगको किटाणु मुसाको कानमा बस्ने गर्छ । मुसाबाट घाँसपातमा झर्ने र सोही घाँसपातमा जाँदा मानिसमा सरेर यसले टोक्ने डा. खत्रीले जानकारी दिए । ज्वरो देखिएपछि चिकित्सकको निगरानीमा उपचार गरेर रोग निको हुने तर ढिला अस्पताल पुगे ज्यान जोखिममा पर्न सक्ने उनको भनाई छ।

‘समयमै उपचार नगर्दा यस रोगले ज्यान पनि लिन सक्छ’ डा. खत्रीले भने, ‘यसको समयमै उपचार गर्न जरुरी हुन्छ ।’ यो दुई महिना बीचको तथ्याङ्क हो । साथै जिल्लामा तीन जना ब्रुसेलाका बिरामीहरु देखिएको बताइएको छ । उनीहरूलाई उपचारका लागि नियमित अस्पतालमा आउन भनिएको अस्पतालले जनाएको छ।

यसैबीच राप्ती समाज अस्पतालले डेन्टल सेवा सुरु गरेको छ । भर्खरै स्थापना भएको उक्त अस्पतालले डिजिटल प्रविधिवाट उपचार गर्ने गरि उपकरणहरु जडान गरिरहेको छ । केहीको जडान गरी उपचार सुरु गरिएको सञ्चालक समितिका टोपवहादुर खड्काले बताए ।

प्रकाशित: ९ आश्विन २०७४ ०६:५० सोमबार

रुकुममा दुईजनालाई स्क्रब टाइफस