समाज

प्रहरी हुँ भन्दै युवासंघ महासचिव चढेको गाडी खानतलासी गर्ने दुई पक्राउ

रसुवा— युवा संघका महासचिव किरण पौडेल चढेको गाडी चेकजाँच गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटका पशुपति थपलिया र कुमार थपलिया रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार जिल्लाको कालिकास्थानमा शनिबार युवा संघका महासचिव पौडेल चढेको गाडी बाटोमा रोकेर सिआइबीबाट आएको प्रहरी भन्दै उनीहरुले गाडीको चेकजाँच गरेका थिए। 

पौडेलको गाडीमा ८ किलो सुन ल्याएको आशंकामा उनीहरुले गाडीको चेकजाँच गरेको प्रहरीले बताएको छ। महासचिव पौडेल चढेको बा १५ च ३३३३ नम्बरको गाडीलाई बा १६ च ५४९४ नम्बरको गाडीमा आएका उनीहरुले गाडीमा सुन ल्याएको भन्दै खानतलासी गरेको प्रहरी नायव उपरिक्षक सरद कुमार थापा क्षेत्रीले बताए। 

गाडीको खानतलासी गर्न थालेपछि पौडेलले प्रहरीलाई खबर गरेका थिए । ‘प्रहरी भन्दै उनीहरु गाडीको खानतलास गर्दै थिए, हामीले खबर पाउना साथ प्रहरी पठाएर पक्राउ गर्याैं’,  प्रहरी नायव उपरिक्षक क्षेत्रीले भने । पक्राउ परेका उनीहरुलाई थुनामा राखेर अनुसन्धान गरिरहेको क्षेत्रीले बताए । 

उनले भने, ‘पक्राउ परेका माथि अनुसन्धान हुँदै छ, घटनामा संलग्न अन्यको खोजी कार्य तिब्र बनाइएको छ।'

गाडीमा ८ किलो सुन थियो भनेर खानतलासी गरेका रहेछन् नि भन्ने प्रश्नमा उनले भने, ‘रसुवागढीबाट काठमाडाैं जान लागेका पौडेलको गाडी रसुवागढीमा चेकजाँच हुँदा केही भेटिएन्।'  

 

प्रकाशित: ८ आश्विन २०७४ १६:१२ आइतबार

प्रहरी हुँ भन्दै युवासंघ महासचिव चढेको गाडी खानतलासी गर्ने दुई पक्राउ