ललिपुर पुल्चोकस्थित राणकालीन दरबार श्रीमहल यतिबेला अलपत्र अवस्थामा छ। विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनेको श्रीमहल आठ बितिसक्दा पनि अझै पुनः निर्माण हुन सकेको छैन।
झ्याल तथा ढोका फुटेका र पर्खालमा चिरा परेको श्रीमहल कुन दिन ढल्छ भन्ने पत्तो छैन। संरक्षणको अभावले वरिपरि उम्रिएका घाँसले भवनलाई घेरेका छन्। छेउका बोटबिरुवाहरू बढेर श्रीमहल नै ढाक्न थालेका छन्।
राणा प्रधानमन्त्री चन्द्रशमशेर जबराले छोराहरूका लागि निर्माण गरेको श्रीमहलमा भूकम्पअघि स्थानीय विकास मन्त्रालय थियो। त्यसको केही समयपछि स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागको कार्यालय सञ्चालन भएको थियो। भूकम्पपछि स्थानीय पूर्वाधार विभाग श्रीमहल छेवैको भवनमा सरेको छ।
भूकम्पपछि जीर्ण बन्दै गएको श्रीमहल पुनःनिर्माणका लागि २०७५ सालमा तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बोलपत्र समेत आह्वान गरेको थियो। तर, पछि प्राविधिक त्रुटि देखाउँदै हात झिकेको थियो। आफैं निर्माण गर्छौं भनेर जिम्मा लिएको स्थानीय पूर्वाधार विभागले पनि काम गर्न नसकेपछि अहिले शहरी विकास तथा भवन निर्माण विभागलाई सुम्पिएको छ।
स्थानीय पूर्वाधार विभागका उपसचिव प्रेमप्रसाद लुइँटेलका अनुसार चालु आर्थिक वर्षदेखि श्रीमहल पुनःनिर्माणको जिम्मा शहरी विकास तथा भवन निर्माण विभागले लिएको छ।
उनले भने, ‘श्रीमहल पुनःनिर्माणका लागि शहरी विकास तथा भवन निर्माण विभागलाई कागजात हस्तान्तरण गरेका छौं। श्रीमहल पहिलेकै संरचनामा निर्माण हुने सहमति भएको छ।’
हाल चारैतिरको भाग जीर्ण देखिएको श्रीमहलको परिसरमा पर्खाल भत्केर झरेका इँटा छरिएका छन्। भवन भूतबङ्गला जस्तै भएको छ। श्रीमहल परिसरमा आदिवासी जनजाति आयोग, सिंचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना लगायत अन्य सरकारी कार्यालयका भवन छन्।
प्रकाशित: २ आश्विन २०८० ०६:४१ मंगलबार