समाज

नारायणी नदीमा डुबेर दाजुभाइको मृत्यु

नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ। 

गैँडाकोट नगरपालिका वडा नं. ७ स्थित नारायणी नदीको गैरी भन्ने स्थानमा पौडी खेल्दा मृत्यु भएको हो। मृत्यु हुनेमा सोही स्थानका दाजुभाई रहेका छन्।

गैरीगाउँका सुमन कुमालका छोराहरु १४ वर्षीय सविन कुमाल र ९ वर्षीय संगम कुमालको डुबेर मृत्यु भएको हो। उनीहरू आज दिउँसो ३ बजेतिर नदीमा डुबेर बेपत्ता भएका थिए। बेपत्ता भएकै स्थानबाट सविनलाई दिउँसो ३ः२० बजे र सङ्गमको दिउँसो ३ः५० बजे उनीहरूलाई उद्धार गरिएको थियो।

दुवै जनालाई उपचारका लागी नजिकको अस्पताल लगिएको भएतापनि अस्पतालले उनीहरूलाई मृत घोषणा गरेको गैंडाकोट प्रहरीले जनाएको छ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १ आश्विन २०८० १३:०७ सोमबार