समाज

नागरिककर्मी पौडेललाई अर्थ पत्रकारिता सम्मान

काठमाडौं – पत्रकारिताको माध्यमबाट मुलुकको आर्थिक क्षेत्रको विकासमा योगदान पुर्‍याएको भन्दै नागरिककर्मी दिलीप पौडेल ‘अर्थ पत्रकारिता सम्मान–२०७४’बाट सम्मानित भएका छन्। पौडेललाई आपूर्ति मन्त्री शिवकुमार मण्डलले सम्मान पत्रसहित नगद १० हजार रुपैयाँले सम्मानति गरे। 

ग्यास बिक्रेता महासंघले हरेक वर्ष आर्थिक क्षेत्रसहित पेट्रोलियम, एलपी ग्यासको क्षेत्रमा आम नागरिकलाई सूसुचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने  पत्रकारलाई ‘अर्थ पत्रकारिता सम्मान’ प्रदान गर्दै आएको छ । पौडेलसहित कान्तिपुर दैनिकका राजु चौधरी र नयाँपत्रिका दैनिकका अजित अधिकारी पनि सम्मानित भएका हुन् । उनीहरूलाई पनि जनही १० हजार रुपैयाँसहित सम्मान पत्र प्रदान गरिएको हो । यो सम्मानबाट यसअघि नेपाल आर्थिक पत्रकार समाज सेजनका पूर्व अध्यक्ष विज्ञान अधिकारी सम्मानित भएका थिए । राज्यलाई ट्र्याकमा ल्याउन पत्रकारले महत्वपूर्ण भूमिका खेलेको आपूर्ति मन्त्री मण्डलले बताए। 

जनतालाई सूसुचित गराउन सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको ग्यास बिक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बताए । महासंघले सो अवसरमा नवनिर्वाचित नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारी लगायतका पदाधिकारीलाई पनि सम्मान गरेको थियो। कार्यक्रममा सेजनका पूर्व अध्यक्ष अधिकारीले राज्यका निकायले गरेका कमजोरीलाई उजागर गरेर सुशासन अभिवृद्धि गर्ने दायित्वमा पत्रकारसँधै प्रतिवद्ध रहेको बताए।  

प्रकाशित: ६ आश्विन २०७४ ११:१५ शुक्रबार

नागरिककर्मी पौडेललाई अर्थ पत्रकारिता सम्मान