समाज

विराटनगरका विभिन्न स्थानमा सोमबारदेखि निषेधाज्ञा

विभिन्न संघसंगठनले कोशी प्रदेशको राजधानी विराटनगरमा आन्दोलन गर्ने घोषणा गरेपछि विराटनगरमा दुई महिने निषेधाज्ञा जारी भएको छ।

आइतबार जिल्ला प्रशासन कार्यालय मोरङले सूचना जारी गर्दै विराटनगरका विभिन्न क्षेत्रमा दुई महिनासम्मका लागि निषेधित क्षेत्र घोषणा गर्दै निषेधाज्ञा जारी गरेको हो। संघसंगठन र विभिन्न किसिमका आन्दोलन विराटनगरमा हुन थालेपछि मोरङ प्रशासनले निषेधाज्ञा जारी गरेको जनाएको छ। मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले आइतबार सूचना जारी गर्दै असोज १ गते बिहान ६ बजेदेखि लागू हुने गरी निषेधाज्ञाको घोषणा गरेका हुन्।

निषेधित क्षेत्रमा सर्वसाधारण तथा सवारीसाधन आवतजावत बाहेक सभा, जुलुस, भेला, र्‍याली, धर्ना जस्ता कार्यहरू गर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३क) बमोजिम निषेध गरिएको प्रजिअ यादवले जारी गरेको सूचनामा भनिएको छ।

निषोधाज्ञा जारी गरेको क्षेत्रहरूमा प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोसी अस्पताल चोक क्षेत्र, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, रोडशेष चोकदेखि दक्षिण जतुवा चोक, मुख्यमन्त्री निवासको तीन सय मिटर वरपरको क्षेत्र, प्रदेश प्रमुखको कार्यालयबाट तीन सय मिटर वरपर र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्व रहेको छ।

प्रकाशित: १ आश्विन २०८० ०२:४४ सोमबार

विराटनगरमा दुई महिने निषेधाज्ञा जारी कोशी प्रदेशको राजधानी विराटनगर