समाज

पोखराका नौ ताल जोड्नेगरि साइकल ट्रयाक बन्ने

पोखरा महानगरपालिका र एसियाली विकास बैकका पदाधिकारीबीचको भेटघाट। तस्बिरः नागरिक

पोखरा उपत्यकाभित्रका नौवटा ताल र महानगरपालिकाका १८ वटा वडालाई जोड्ने गरी ८५ किलोमिटर लामो साइकल ट्रयाक निर्माण हुने भएको छ। त्यसबाहेक पोखरा आसपासका सम्पदा संरक्षण र विकास निर्माणमा पनि एशियाली विकास बैंक (एडिबी) ले सघाउने भएको छ।  

एडिबी कै सहयोगमा लेक टु लेक साइकल ट्रयाक र फेवाताल सुधार परियोजना समेत सञ्चालनको क्रममा रहेको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र एसियाली विकास बैकका कार्यकारी निर्देशक वान फरिसन बिन वान सुलेमान नेतृत्वको टोलीबिच भेटवार्ताको क्रममा एडिबीको सहयोगमा सञ्चालित सहरी पूर्वाधार र जीवन सुधार परियोजना सहित पोखराको दिगो पर्यटन विकासका सम्भावना लगायत विषयमा छलफल भएको हो।  

हाल एडिबीको सहयोगमा पोखराको ढल निकास, सडक, फुटपाथ र सडक सुधार परियोजना अन्तरगत सडक सुरक्षा उपायको योजना सहित विद्यमान सडक र ढलको स्तरोन्नति, शहीदचोक–तीनकुने–राधाकृष्ण मार्ग–एसओएस–घलेचोक–हरियो खर्क–पीआईए ८.८ किलोमिटर सडक सुधार योजनालाई अन्तिम रुप दिइएको छ। त्यसका लागि ५.३४ मिलियन अमेरिकी डलर खर्च हुनेछ।

फेवाताल सिरानको पञ्चासे वन क्षेत्रको पारिस्थितिक विकास र पहुँच परियोजना अन्तरगत दमदमेदेखि भन्ज्याङसम्मको १३ किलोमिटर सडक कालोपत्रे गरिनेछ। भन्ज्याङदेखि पञ्चासेसम्म बाटोको स्तरोन्नति, सुविधा सहितका सर्भिस प्वाइन्ट स्थापना, विद्यमान होमस्टेको एकीकृत प्रवद्र्धन योजना र गुरुङ संग्र्रहालयको संरक्षणका लागि ३.०५ मिलियन अमेरिकी डलर खर्च हुनेछ। पञ्चासेमा एकसय भन्दा बढी प्रजातिका अर्किड पाइन्छन। त्यस्तै पञ्चासे वन क्षेत्रभित्र ठाउँठाउँमा पोखरी पनि छन । प्रसिद्ध तीर्थस्थल र संरक्षित वन क्षेत्र पञ्चासेले समेट्छ।

परियोजना अनुसार नौवटा ताल र १८ वटा वडालाई जोड्ने गरी ८५ किलोमिटर लामो साइकल ट्रयाक निर्माण हुनेछ। फेवाताल सुधार परियोजना अन्तरगत बसाइ व्यवस्थापन, शौचालय, वाटर फाउन्टेन, वाटर स्प्रिङ प्रोटेक्सन, इन्फरमेसन बोर्ड, डाइरेक्शन बोर्ड, साइकल पार्किङ, सर्भिस पोइन्टसहित साइकल स्ट्यान्डको निर्माण गरिनेछ। यसमा ३.०५ मिलियन अमेरिकी डलर खर्च हुने पनि महानगरका मेयर धनराज आचार्यले बताएका छन्।

फेवातालसँगै जोडिएको रानीवन इकोट्रेल र फेवाताल सुधार परियोजना अन्तरगत ड्यामसाइडबाट रानीवनलाई शिशाको पुलले जोड्ने, शान्तिस्तूप र फेवातालको परिधिलाई एकीकृत रुपमा जोड्दै रानीवनबाट इको ट्रेल विकास गर्ने योजनामा पनि सघाउने एडिबीको योजना छ। इको रुटमा विश्राम स्थल, शौचालय, धारा, मन्दिर जीर्णाेद्वार, सूचना बोर्ड लगायत सार्वजनिक सुविधा पनि थपिनेछन। त्यसका लागि ५.६३ मिलियन अमेरिकी डलर खर्च हुने पनि मेयर आचार्यले बताएका छन्।

एडिबीकै सहयोगमा शान्ति बनबाटिकामा बोटानिकल गार्डेन निर्माण हुनेछ। परियोजना अन्तरगत विद्यमान वन क्षेत्रलाई हरियाली केन्द्रको रुपमा विकास र स्तरोन्नति गरी नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास गरिनेछ। जहाँ जडीबुटी बगैंचा, पैदलमार्ग, टिकट काउन्टर, विश्रामस्थल, पिकनिक सेड, ध्यान केन्द्र, कम्पाउन्ड वाल, फेन्सिङ, एप्रोच रोड लगायत निर्माण हुनेछ।  

एडिबीकै सहयोगमा बन्ने अर्का परियोजनामा पोखराको पुराना सम्पदा संरक्षण जोडिएका छन। पोखरा महानगरपालिका– २, ३, ४ मा रहेका पुराना शैलीका कलात्मक भवन तथा मन्दिरको संरक्षणका लागि यो परियोजना लागु गरिनेछ। रामकृष्ण टोललाई पोखरा हेरिटेज साइटका रुपमा विकास गर्दै एक प्रमुख पर्यटकीय गन्तव्य स्थलका रुपमा विकास गरिने तयारी छ। यसले पुरानो पोखराको सहरी पुनरुत्थान सहित सिद्दार्थचोकदेखि विन्ध्यवासिनी सम्म डेढ किमि सडकको स्तरोन्नति र फुटपाथ निर्माण गर्नेछ। यसका लागि एडिबीले १.९८ मिलियन अमेरिकी डलर खर्च गर्नेछ ।  

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि लेकसाईडसम्मको सडक स्तरोन्नतिका लागि प्राविधिक, वातावरणीय र आर्थिक सम्भाव्यता प्रतिवेदन पनि तयार भईसकेको छ। यस परियोजनाको लागि २ मिलियन अमेरिकी डलर खर्च हुनेछ। यी लगायतका परियोजनाका विषयमा एडिबीको टोलीले प्रमुख आचार्यसँग छलफल गरेको थियो। सो क्रममा प्रमुख आचार्यले परियोजना तोकिए कै समयमा सम्पन्न गर्न आफूहरू प्रतिबद्ध रहेको बताए। परियोजनामा एडिबीले ७५ प्रतिशत र पोखरा महानगरपालिकाले २५ प्रतिशत लगानी गर्नेछ।

प्रकाशित: ३१ भाद्र २०८० १२:३१ आइतबार

पोखरा नौ ताल