समाज

कपिलवस्तुमा सडक दुर्घटनामा २ जनाको मृत्यु

कपिलवस्तुमा छुट्टा छुट्टै दुई स्थानमा भएको सडक दुर्घटनामा २ जनाको मृत्यु भएको छ।दुवै जनाको शुक्रवार साँझ मृत्यु भएको हो।कपिलवस्तु नगरपालिका वडा नम्बर ९ कटुवा र वडा नम्बर ६ निगालीकोटमा भएको सवारी दुर्घटनामा उनीहरूको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुले जनाएको छ।

गत भदौ १७ गते चार नम्बर बाट तौलिहवा आउनेक्रममा लु १ ख ८९३२ नम्बरका बसका मालिक तथा प्राचीन कपिलवस्तु यातायात प्रालिका  पूर्व कोषाध्यक्ष कपिलवस्तु नगरपालिका वडा नम्बर १ मस्जिद टोलका ५४ वर्षीय सहेजाद अली रंगरेज कटुवामा बसको ढोकाबाट खसेर गम्भीर घाइते भएका थिए।टाउकोमा गम्भीर चोट लागेर घाइते भएका अलीको भैरहवा स्थित सिटी अस्पतालमा उपचारको क्रममा शुक्रवार मृत्यु भएको प्रालिका संयोजक राजु श्रेष्ठले बताए।

सो गाडी र चालक प्रहरी नियन्त्रणमा छन।यस्तै शुक्रवार साँझ कपिलवस्तु नगरपालिका वडा नम्बर ६ निगालीकोटमा मोटर साइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ।चार नम्बर देखि तौलिहवा आउनेक्रममा लु २७ प २९०९ नम्बरको मोटरसाइकले ठक्कर दिँदा कपिलवस्तु नगरपालिका वडा नम्बर ९ रमवापुरका ५० वर्षीय कन्हैया यादवको मृत्यु भएको हो।

घाइतेको कपिलवस्तु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ट्राफिक प्रहरी निरीक्षक अनिल भण्डारीले बताए।मोटरसाइकल चालक कपिलवस्तु नगरपालिका  वाड नम्बर ६ का ईस्तियाक अहमद प्रहरी नियन्त्रणमा छन।

प्रकाशित: ३० भाद्र २०८० ११:३५ शनिबार

कपिलवस्तुमा सडक दुर्घटनामा २ जनाको मृत्यु सडक दुर्घटना