समाज

किन छान्यो बालेन शाहलाई टाइम म्यागजिनले १०० उदीयमान व्यक्तिको सुचीमा ?

विश्व प्रसिद्ध पत्रिका टाइम म्यागजिनले विश्वका १०० उदयमान व्यक्तिको सुचीमा छनोट गरेको छ। सो अमेरिकी म्यागजिनले सन् २०२३ का लागि तयार गरेको ‘टाइम हन्ड्रेड नेस्क्टु सूचीमा बालेनको नाम पनि समावेश गरेको हो।

सन् १९९९ देखि विश्वका प्रभावकारी व्यक्तिलाई ‘टाइम १००’मा समावेश गर्दै आएकोमा सन् २०१९ देखि विश्वका व्यापार, मनोरनन्ज, राजनीति, विज्ञान, स्वास्थ्य लगायतमा विषयमा प्रभावकारी भूमिका निर्वाह गरेका उदयमान व्यक्तित्वलाई ‘टाइम १०० नेस्क्ट’मा समावेश गरिन थालेको हो।

पत्रिकाले किन शाहलाई यो सुचीमा समावेश गरेको भन्नेमा स्पष्ट पार्दै ‘उनले सन् २०१५ मा आएको विनाशकारी भूकम्पको बेला जनताको साना तथा अत्यावश्यक समाधानमा जोड दिएको’ उल्लेख गरेको छ।

यसैगरी म्यागजिनले फोहोर व्यवस्थापन, सरसफाइ, सुरक्षित पिउने पानी, सफा सडक र सहरी विकाससँगै सांस्कृतिक सम्पदाको संरक्षण जस्ता विषयमा मेयर बालेनले प्रतिबद्धता व्यक्त गरेको उल्लेख गरेको छ।

२०७९ बैशाखमा सम्पन्न स्थानीय चुनावमा स्वतन्त्र हैसियतमा उम्मेदवारी दिएका ३३ बर्षिय शाह अपत्यारिलो हिसाबले विजयी भएको चर्चा गर्दै पत्रिकाले उनको कालो वर्गाकार चस्मा राजधानी काठमाडौमा सर्वाधिक बिक्री हुने वस्तु बनेको उल्लेख गरेको छ। स्टक्ट्रचरल इन्जिनियरिङ विषयमा स्नातकोत्तर गरेको ३३ बर्षिय शाहले टिकटक, ट्ीटर, इन्स्टाग्रामको प्रयोग मार्फत मतदाताको यथास्थितीप्रतिको आक्रोसलाई प्रतिबिम्वित गरेर ‘बालेन इफेक्ट’ सिर्जना गरेको पत्रिकाले भनेको छ।

‘बालेन इफेक्ट’का कारण स्थानीय चुनावमा देशभरका ३८५ स्वतन्त्र उम्मेदवारले अनुभवी उम्मेदवारहरुलाई हराउदै विजयी हासिल गरेको भनाई टाइमको छ। यसैगगरी बालेनले आफ्ना प्रतिबद्धता पुरा गर्नेक्रममा सहरी गरिबमाथि असर परेको र उनीहरुको घर भत्काउने कदम गैरकानूनी देखिएको भन्दै बालेनले आलोचना खेप्नुपरेको म्यागजिनले उल्लेख गरेको छ।

यसैगरी शक्तिमा पुगेपछि मेयर शाहले ल्यान्डफिल साइट प्रयोगका विषयमा सम्बद्ध अधिकारीसँग सम्झौतामा हस्ताक्षर गरेको, कुहिने र नकुहिने फोहोर व्यवस्थापन गर्ने घोषणा पनि गरेको म्यागजिनको टिप्पणी छ।

यसबर्ष ‘टाइम १०० नेस्क्ट’ सुचीमा परेका अन्य व्यक्तिमा भारतीय क्रिकेट खेलाडी हर्मनप्रित कोर, युक्रेनका प्रथम उपप्रधान तथा अर्थमन्त्री युलिया सिभरिडियेन्का, स्कटल्यान्डका फस्र्ट मिनिष्ट हम्जा युसुफ, पुलिटजर पुरस्कार विजेता मोना चलाबी लगायतका व्यक्ति छन्।

यो बर्षको सुचीमा कलाकार, नवप्रवर्तक, अभियान्ता, नेता तथा असाधारण प्रतिभाका धनी व्यक्तित्वहरुलाई समावेश गरिएको छ। म्यागजिनले यो सूची बनाउन आफनो विश्वव्यापी संजाल प्रयोग गरेको बताएको छ।

‘टाइम १०० को सूची बनाउन हामीले टाइमका संवाददाता र सम्पादकको विश्वब्यापी संजाललाई प्रयोग गरेका छौं,’ टाइमले भनेको छ।

प्रकाशित: २८ भाद्र २०८० १३:५० बिहीबार

टाइम म्यागजिन टाइम हन्ड्रेड नेस्क्टु बालेन शाह