समाज

थबाङ गाउँपालिका प्रमुख अपहृत खोज्न प्रहरी परिचालन

रोल्पा- अपहरणमा परेका थबाङ गाउँपालिका प्रमुख वीरबहादुर घर्तीलाई खोज्न व्यापक प्रहरी परिचालन गरिएको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले प्रमुख घर्तीलाई  अपहरण गरेका हुन् ।   
गाउँपालिका प्रमुखको खोजीमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  ‘घर्तीको खोजीका लागि प्रहरी परिचालन गरिएको छ,’ प्रमुख जिल्ला अधिकारी डिजन भट्टराईले भने, ‘सोधपुछका लागि केही व्यक्तिलाई नियन्त्रणमा लिएका छौं ।’
शनिबार गाउँसभा उद्घाटन गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आउने कार्यक्रम तय गरिएपछि हेलिकोप्टरबाट स्पेसल टास्क फोर्स थवाङ झारिएको छ । चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जिल्ला जनपरिषद् रोल्पाका संयोजक लालबहादुर वलीले विज्ञप्ति जारी गर्दै थबाङ गाउँपालिका प्रमुख घर्तीलाई आफूहरूले नियन्त्रणमा लिएको स्वीकारेका छन् । ‘यतिबेला देशमा दुई  सत्ता चलिरहेको छ । यो जनसत्ता र दलाल सत्ताबीचको संर्घषको परिणाम हो । थबाङको स्थानीय जनसत्तालाई चुनौती दिँदै गाउँसभा उद्घाटन गर्न प्रचण्ड (दाहाल) आउने भएपछि सोधपुछका घर्तीलाई हामीले लगेका हौं,’ विज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित: ३१ भाद्र २०७४ ०२:५७ शनिबार

थबाङ गाउँपालिका प्रमुख अपहृत खोज्न प्रहरी परिचालन