नेपाली कांग्रेसको सबैभन्दा बढी क्रियाशील सदस्य रहेको चितवनमा संगठित सदस्यहरुको संख्या उल्लेखनीय रुपमा घटेको छ। नेपाली कांग्रेसको १४ औँ महाधिवेशन पछि ६७ प्रतिशतले मात्र पार्टी सदस्यता नवीकरण गरेका छन्।
नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार, १९ हजारको हाराहारीले मात्र पार्टी सदस्यता नवीकरण गरेका छन्।
‘साउन ६ गतेदेखि सुरु गरेर जिल्लाका ९८ वटै वडामाहरुमा क्रियाशील सदस्यता नवीकरण अभियान सम्पन्न गरेका छौँ,’ सभापति खनालले भने, ‘७० प्रतिशत हाराहारीले नवकिरण गरेका छन्।’
१४ औँ महाधिवेशनमा नेपाली कांग्रेस चितवनको क्रियाशील सदस्यको संख्या २८ हजार २०० थियो। १८ महिनाको अवधिमै ३२ प्रतिशतको हाराहारीमा घटेको छ। अधिवेशनको समयमा पार्टी सदस्यता नवीकरण बढी हुने सभापति खनालले बताए।
‘पार्टीको विधान अनुसार एकै पटक दुई वर्षसम्म पार्टी सदस्यता नवीकरण गर्न मिल्छ। हामी निर्वाचित भएर आएको दुई वर्ष पुगेको छैन,’ उनले भने ‘विगतको नजिर पनि अधिवेशनको समयमा नवीकरण गर्नेको संख्या बढी छ।’
कांग्रेस चितवनले यहाँ घर भएर अन्यत्र बस्दै आएका पार्टी सदस्यहरुका लागि जिल्ला फर्क अभियान सञ्चालन गर्ने नीति ल्याएको छ। वैदेशिक रोजगारीमा रहेका नागरिकहरुलाई वैदेशिक जनसम्पर्क समिति मार्फत एकीकृत गर्दै पार्टी संगठनलाई बलियो बनाउने नीति ल्याएको उनले बताए। पार्टीको केन्द्रीकृत गतिविधिलाई विकेन्द्रिकृत गर्दै रचनात्मक कार्यसहित घुम्ती बैठक सञ्चालन गर्ने नीति नेपाली कांग्रेसको रहेको छ। अनलाइन मार्फत पनि कांग्रेसले सदस्यता नवीकरण गर्ने व्यवस्था गरेको छ।
चितवन नेपाली कांग्रेसको उर्भर भूमि हो। १३ औँ महाधिवेशनमा २० हजार केन्द्रीय सदस्य रहेको चितवनमा १४ औँ महाधिवेशनमा २८ हजार २०० पुगेको थियो। तत्कालीन समयमा देशभर सबैभन्दा बढी क्रियाशील सदस्य हुने जिल्ला चितवन भएको पार्टीका निवर्तमान सभापति जीतनारायण श्रेष्ठले जानकारी दिए। अहिले कांग्रेसको सबैभन्दा बढी क्रियाशील सदस्य झापामा रहेको उनले बताए।
‘१४ औँ महाधिवेशनमा झापामा १९ हजारको हाराहारीमा सदस्यता थिए,’ उनले भने ‘छोटो अवधिमै अहिले ३५ हजार पुर्याएको छ।’
चितवनमा कांग्रेसको इतिहास २०१५ सालदेखिको छ। स्वर्गीय किशोर चन्द्र ढुंगाना जिल्लाको पहिलो सभापति रहेको कांग्रेस चितवनको अभिलेखमा उल्लेख छ। ढुंगानाको नेतृत्वमा १५ सदस्य कार्यसमितिबाट कांग्रेसले संगठन विस्तारको अभियान थालेको पार्टी सचिव धुर्वप्रसाद पोख्रेलले बताए।
त्यसपछि चितवन जिल्लाको नेतृत्व नारायण शर्मा, स्व.जमानसिंह गुरुङ, स्व.उदयनाथ अधिकारी, कृष्णलाल सापकोटा, तिर्थ भुसाल, टिकाराम न्यौपाने, टेकप्रसाद गुरुङ, शेषनाथ अधिकारी, तोपमान सिंह गुरुङ, पृथ्वीमान सिंह गुरुङ, रामकृष्ण घिमिरे, विकास कोइराला, जीतनाराण श्रेष्ठले गरे। अहिले राजेश्व खनाल छन्। बखान सिंह गुरुङ पनि नेपाली कांग्रेसकै हुन उनले चितवनको बस्ती निमार्णमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको इतिहास छ। विगतका कांग्रेस जनतासँग प्रत्यक्ष जोडिए पनि अहिले गुट र उपगुटमा लाग्दा चितवनमा कांग्रेस कमजोर हुँदै गएको विश्लेषण गरिएको छ।
२०४६ पछिका निर्वाचनमा कांग्रेसको नतिजा उतार चढाव छ। २०४८ सालमा शून्य नतिजा हासिल गरेको कांग्रेसले २०५१ सालमा दुई स्थानमा जित हासिल गर्यो। २०५६ सालमा भएको संसदीय निर्वाचनमा चार निर्वाचन मध्ये चार वटै निर्वाचन जित्यो। २०६४ सालमा भएको संविधान सभाको निर्वाचनमा पाँच निर्वाचन क्षेत्रमा रहेको चितवनमा एउटा पनि जित्न सकेन। २०७० सालको निर्वाचनमा दुई निर्वाचन क्षेत्रमा जित्न सफल रह्यो। २०७४ संघ र प्रदेश कुनै क्षेत्रमा एक सिट पनि जितेन।
२०७९ सालमा भएको निर्वाचनमा प्रदेश तर्फ एक सिटमा चित्त बुझाउनु पर्यो। यहाँ एक र दुई नम्बर निर्वाचन क्षेत्र नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी र तीन राप्रपाले जित्यो। सधैँ जित्दै आएका ठुला पार्टीले संघ तर्फ जित्न सकेनन्।
यसरी हेर्दा चितवनमा ठुला पार्टी प्रति जनताको निराशा देखिएको छ। यही निराशालाई चिर्न प्रदेश क्षेत्रीय स्तरमा युवा तथा महिला जागरिण अभियान सञ्चालन गर्ने र प्रशिक्षित पार्टी सदस्य निर्माण अभियान सञ्चालन गर्ने पार्टी सचिव पोखरेलले जानकारी दिए।
प्रकाशित: २८ भाद्र २०८० १०:३४ बिहीबार