पत्रकार सन्तोष यादवमाथि सिरहाको औराहीमा भौतिक आक्रमण भएको छ। स्थानीय एक व्यक्तिले आफूमाथि धारिलो हतियारले प्रहार गरेको पत्रकार यादवले जानकारी दिए।
गाउँको एक विद्यालयमा भएको विवादलाई लिएर यादवले फेसबुकमा स्ट्याटस लेखेका थिए। त्यसमा आपत्ति जनाएर स्थानीय नवल किशोर यादवले पूर्व गाविस अध्यक्ष समेत रहेका सन्तोषका पिताको चरित्रहत्या गर्नेगरी स्ट्याटस लेखे। यस विषयमा विवाद हुँदा उनीमाथि नवलका भतिजाले आक्रमण गरेको पत्रकार यादवले बताए।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी रवीन्द्रराज पाण्डेले फेसबुकमा स्ट्याटसको विषयलाई लिएर पत्रकार यादवमाथि आक्रमण भएको बताए। बिहान औरही नगरपालिका-५ स्थित चोकमा यादवमाथि आक्रमण गरिएको उनको भनाइ छ।
प्रहरीले प्रभु यादव, रमण यादव र नवल किशोर यादवलाई नियन्त्रणमा लिएको डिएसपी पाण्डेले जानकारी दिए।
‘हामी घटनाबारे थप अनुसन्धान गर्दैछौं। साम्य भइसकेको विषयमा पुनः विवाद निकालेर आक्रमण भएको पाइएको छ। दुवै पक्षलाई राखेर विस्तृत बुझ्छौँ। र, थप कारबाही अघि बढाउँछौँ’ डिएसपी पाण्डेले भने।
प्रकाशित: २८ भाद्र २०८० ०९:५४ बिहीबार