समाज

विद्यार्थी हत्याको विरोधमा प्रदर्शन

भीमदत्तनगर – विद्यार्थी हत्याको विरोधमा कञ्चनपुरको भीमदत्तनगरपालिका–७ हल्दुखालका स्थानीयवासीले विरोध प्रदर्शन गरेका छन्। 

प्रहरी र स्थानीयवासीबीच झडप हुँदा केही प्रदर्शनकारी घाइते भएका छन्। यस क्रममा प्रहरीले नौ राउण्ड अश्रुग्याससमेत प्रहार गरेको प्रहरी उपरीक्षक प्रकाशबहादुर चन्दले जानकारी दिए। 

गत आइतबार स्थानीय महाकाली जनसेवा माध्यमिक विद्यालयमा कक्षा–८ मा अध्ययरत १३ वर्षीय तिलक चन्द विद्यालयबाट बेपत्ता भएका थिए। प्रहरीले उनको शव बुधबार राति हल्दुखाल नजिकैको खोलामा भेटाएको थियो। 

चन्दको हत्यामा संलग्न रहेको आशंकामा उनकै साथी आशिष अधिकारीलाई प्रहरीले पक्राउ गरेको थियो। अधिकारीले चन्दको हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन्। हत्यामा संलग्न अधिकारीको घरमा शुक्रबार स्थानीयवासीले तोडफोड गरेका छन्। उनीहरुले अधिकारीको गोठमा आगजनीसमेत गरेका छन्। 

अहिले हल्दुखाल क्षेत्र तनावग्रस्त बनेको छ। स्थानीय प्रशासनले साँझ ८ बजेसम्मका लागि सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ। 

चन्दको कानमा लगाएका सुनको मुन्द्राको लोभमा अधिकारीले उनको हत्या गरेको खुलेको छ। चन्दका सहपाठी आशिष अधिकारी, रमेश खड्का, विशाल चन्द र प्रकाश थापालाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक चन्दले बताए । रासस 

प्रकाशित: ३० भाद्र २०७४ ११:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App