समाज

जग्गा बाढीले बगाउँदा सोह्र परिवारको विचल्ली

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ दुवाहाका १६ परिवारको जग्गा वनहरा नदीमा आएको बाढीले बगाउँदा विचल्लीमा परेका छन्। 

खेती लगाउँदै आएको झण्डै दुई बिगाहा दश कट्ठा जग्गा भदौ दोस्रो साता आएको बाढीले बगाएपछि खेतीमै आश्रित परिवार समस्यामा परेका हुन्। 

धान र सखरखण्डी लगाएको खेत नदीमा आएको बाढीले कटान गरी बगरमा परिणत गरेको स्थानीय मंगल चौधरीले बताउनुभयो । “जग्गा बगेपछि पीडित परिवारले मजदुरी गरी दैनिक गुजारा चलाउनु पर्ने अवस्था आएको छ” उनले भने। 

जग्गा नदीले बगाएपछि ती परिवारसँग अब घरमात्रै बाँकी रहेको उनले बताए। नेपाल रेडक्रस सोसाइटीले दातृ निकायको सहयोगमा ६० मिटर लामो अस्थायी तटबन्ध निर्माणको कार्य गरी जग्गा कटानको कार्य रोकथाम गरिरहेको छ। 

तटबन्ध निर्माणको कार्यमा स्थानीयले श्रमदान गरिरहेका छन्। तत्काल स्थायी समाधानको उपाय नगरिए जग्गा कटानको चपेटामा परेका १६ परिवारसहित अन्य परिवार गरी ३५ परिवार विस्थापनमा पर्ने भएका छन्। रासस 

प्रकाशित: २८ भाद्र २०७४ ०५:२४ बुधबार

जग्गा बाढीले बगाउँदा सोह्र परिवारको विचल्ली