समाज

दुधकौशिकाको नाम थुलुङ दुधकोशी

दुधकौशिका गाउँपालिकाको पहिलाे बैठकमा छलफल गर्दै जनप्रतिनिधि । तस्बिर साैजन्य : प्रकाश खालिङ

काठमाडौं –  सोलुखुम्बुको दुधकौशिका गाउँपालिकाको नाम थुलुङ दुधकोशी गाउँपालिका राखिने भएको छ । संसोधन गरिएको नाम कार्यपालिकाको बैठकले पारित समेत गरेको छ।

आइतबार भएको पहिलो गाउँ सभाको कार्यपालिका बैठकले दुधकौशिका गाउँपालिकाबाट थुलुङ दुधकोशी गाउँपालिका नामाकरण गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष असिम राई जानकारी दिए । गाउँपालिकाको नाम परिवर्तन ऐतिहासिक कार्य भएको बताउँदै राइले राज्य पुर्नसंरचना आयोगले गरेको अन्यायलाई जनप्रतिनिधिले सच्याएको प्रतिक्रिया दिए । ‘संवैधानिक अधिकार प्रयोग गर्दै गाउँपालिकाको नाम परिवर्तनको निर्णय गरेका हौं,’ राइले भने, ‘पहिलाको नामले भन्दा अहिलेको नामले न्याय ठान्नेछ ।’ उनका अनुसार जनप्रतिनिधिबाट पारित गाउँपालिकाको नामाकरण  परिवर्तनको निर्णय केही दिनमै आयोग पठाउने तयारी भइरहेको छ ।

सोलुखुम्बुको साविक गाविस लोखिम, जुबु, देउसा, मुक्ली, कागेल, पन्चन र नेले मिलेर गाउँपालिका बनेको छ । गाउँपालिकालाई  आदिवासी किरात थुलुङ राईहरुको उद्गम स्थल मानिन्छ।

 

प्रकाशित: २६ भाद्र २०७४ ०७:३९ सोमबार

दुधकौशिकाको नाम थुलुङ दुधकोशी